लमजुङ, १९ साउन २०७६ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका ३ कोतोमा बस्दै आएकी सुत्केरी महिला र बिरामी बच्चालाई शनिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कम उमेरमै बच्चा जन्माएर बिरामी परेका सुत्केरी र बिरामी नवजात शिशुलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

मनाङ जिल्ला अस्पतालमा बच्चाको उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ । रोल्पाको सुनछहरी गाउँपालिका २ घर भई मनाङमा यार्सागुम्बा संकलनको क्रममा आउनुभएका १८ बर्षीया प्रमिशा बुढामगर र उहाँको बिरामी बच्चालाई उद्दार गरिएको जिल्ला अस्पताल मनाङका डा सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती महिला बिहीबार बेलुका ५ बजे डेरामै सुत्केरी हुनुभएको थियो । समय नपुगी ७ महिना (२९ हप्ता २ दिन) मा जन्मिएको बच्चाको स्वास्थ्य अवस्था नाजुक भएको जानकारी पाएपछि मन्त्रालयमा उद्दारको पहल थालेको उहाँले बताउनुभयो ।

‘श्रीमानसंगै यार्सा टिप्नका लागि आउनुभएको रहेछन । महिना नपुगी घरमै सुत्केरी हुनुभएछ । बच्चाको स्वास्थ्यको बारेमा जानकारी पाएपछि हेलिकप्टरमार्फत उद्दारमा पहल गरेका हौं’ अधिकारीले भन्नुभयो, ‘शुक्रबार दिउँसो मात्र खबर पाएका थियौं । शनिबार विहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पुर्यायौं ।’ उहाँका अनुसार बच्चाको अवस्था चिन्ताजनक थियो । सास फेर्न गाह्रो भएको थियो । बच्चा निलो भइसकेको थियो । सानो उमेरमा बच्चा जन्माएको र घरमै सुत्केरी गराउँदा यस्तो समस्या भएकाले तत्काल उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गर्नुपरेको थियो ।

विरामी बच्चा र आमासंगै पोखरा पुग्नुभएका डा। अधिकारीले बच्चाको स्वास्थ्य अवस्था सुधार भएको बताउनुभयो । मनाङका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार महिना नपुगी जन्मिएको बच्चाको स्वास्थ्य अवस्था चिन्ताजनक भएको जानकारी पाएपछि तत्काल उद्दारका लागि अनुरोध गरिएको थियो । बच्चाको स्वास्थ्य उपचार जिल्लामा सम्भव नभएको स्वास्थ्यकर्मीले बताएपछि पोखरा लैजान पहल गरिएको र हेलिकप्टरमार्फत उद्दार गरि पठाइएको उहाँले बताउनुभयो । बच्चा र आमालाई शनिबार विहान ९ बजेतिर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अञ्चल अस्पताल पुर्याएर उपचार अघि बढाइएको छ । मनाङबाट पोखरा पुग्न करिव आधा घण्टा लागेको उहाँले बताउनुभयो ।

प्रमिशाको श्रीमान ओमबहादुर बुढामगरका अनुसार आफु यार्सा संकलनका लागि लेकमा गएको बेलामा श्रीमती बिहीबार सुत्केरी भएको र छोरा सिकिस्तै भएपछि अस्पताल लगिएको थियो । मनाङको अस्पतालमा उपचार कठिन भएपछि सरकारी सहयोगमा पोखराको अस्पतालमा पुर्याइएको उहाँले बताउनुभयो । अस्पतालमा उपचार गर्न कठिन भएपछि उद्दारका लागि पहल गरिदिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्