चितवन, १५ साउन २०७६ । चितवनको मुग्लिनमा त्रिशुली नदीमाथि बनाइएको नयाँ पुल सञ्चालनमा आएको छ । सडक विभागका अधिकारीहरुले यसलाई नेपालकै सबैभन्दा पहिलो दुई लेनको र लामो ‘आर्क ब्रिज’ भनेका छन् ।

नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने पुल ढिला गरी निर्माण सकिएर सञ्चालनमा ल्याइएको छ । नयाँ प्रविधिमा नेपाली ठेकेदारले नै काम गरेकोले यो पुल बनाउँदा ढिलाई भएर तीनपटक म्याद थप गर्नुपरेको थियो ।

मुग्लिनमा बनेको १६० मिटर लामो यो पुल राजमार्गमा बनेको पहिलो डबल लेनको आर्क ब्रिज हो । निर्माणमा केही ढिलाई भए पनि नेपालले यो पुलबाट पर्याप्त अनुभव हासिल गरेको सडक विभागको पुल सेक्टर नम्बर २ का प्रमुख अंगलाल रोकाय बताउँछन् ।

यो पुलको निर्माण इलाइट एड्भेन्चर लोहनी जेभीले गरको हो । यो नेपाली ठेकेदार कम्पनी नै हो । डिजाइन एन्ट मल्टि मोडलमा बनेको पुलको डिजाइन पनि नेपाली ठेकेदारले नै गरेका हुन् । यो पुलमा १२० मिटरको आर्क छ ।

आर्क ब्रिजको बीच भागमा पिल्लर राखिँदैन । पुलमा पर्ने भार आर्कले नै थेग्छ । पिल्लरको सट्टा पुलको दुईतर्फ अड्याउन प्रयोग हुने ‘अब्यटमेन्ट’ को क्षमता बढाइन्छ । पिल्लर नहुने भएकाले यस्ता पुलहरु नदीमा बाढी आउँदा भासिने लगायतका समस्या हुँदैन ।

करिब १२ करोड खर्चिएर मुग्लिनमा वैकल्पिक पुल तयार भएको विभागले जनाएको छ । केही वर्षअघि मुग्लिनको त्रिशुली नदीको माथिको पुलमा गम्भीर समस्या देखिएको थियो । पुलको पाताहरु फुस्किन थालेपछि नयाँ पुल बनाउने योजना विभागले अघि सारेको थियो ।

मंगलबार खुला भएपछि पृथ्वी राजमार्ग भएर चल्ने सबै गाडीले नयाँ पुलको प्रयोग गरिरहेका छन् । अबको दशैंपछि पुरानो पुललाई पनि मर्मत गरेर सञ्चालनका लागि योग्य बनाइने सेक्टर प्रमुख रोकायले बताए । तत्कालै पुरानो पुलको मर्मत पनि अघि बढाउने विभागले बताएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्