काठमाडौं, ११ साउन २०७६ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानवअधिकार सम्बन्धी विधेयकहरु ल्याउँदा सरकारले आयोगलाई जानकारी नै नदिने गरेको बताएका छन् ।

आयोगले शुक्रबार ललितपुरको हरिहरभवनस्थित आफ्नै कार्यालयमा गरेको कार्यक्रममा सदस्य वस्तीले सरोकारवालाहरुसँगको छलफल र परामर्श पछि मात्रै विधेयक ल्याउनुपर्नेमा मानवअधिकार सम्बन्धी विधेयकै बारेमा सरकारले आयोगसँग छलफल नगरेको बताए ।

सरोकारवालासंग छलफल विना विधेयक ल्याउने काम भएकाले पछिल्लो समय धेरै विधेयकहरु विवादास्पद हुने गरेको उनले दाबी गरे । उनले भने, “विज्ञहरुको सहयोग लिइन्न । गोप्य राखिन्छ । गोप्य राख्नुपर्ने कुरै होइन । वातावरण सम्बन्धी विधेयक तपाईहरुसँग गोप्य राख्नुपर्छ र रु तर हामी गोप्य राख्छौं । एकैचोटी पेल्ने जस्तो नि । हामीले त्यो महसुस गरिरहेका छौं ।”

वातावरण प्रदूषण र मानवअधिकार अध्ययन प्रतिवेदन सार्वजनिक तथा वातावरण संरक्षण विधेयक २०७५ माथिको छलफल कार्यक्रममा आयोगका अर्का सदस्य सुदिप पाठकले वातावरणले मानव अधिकारमा पारेको असरका सम्बन्धमा एकीकृत अध्ययन हुन नसकेको बताए ।
उनले वातावरण, विकास र मानवअधिकारको विषयलाई संगसंगै लैजान र अनुगमनलाई शसक्त र प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए ।

उनले राजधानी काठमाडौंको फोहर व्यवस्थापनको समस्या “काउसो”, “सिस्नु” र “क्यान्सर” जस्तो बनेको टिप्पणी गरे ।

फोहर व्यवस्थापन र वातावरण सुधारमा पर्याप्त ध्यान नदिने हो भने पर्यटन वर्षमा नेपाल आएका विदेशी पाहुनाले नेपालको बारेमा गलत सन्देश लिएर फर्कन सक्ने भन्दै उनले सबैलाई वातावरण संरक्षणमा जुट्न अपिल गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्