काठमाडौं, ९ साउन २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार गम्भीर नभएको बताएका छन् ।

प्रतिनिधिसभामा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रस्तुत गरेको बाढीपहिरो सम्बन्धी जरुरी महत्वको प्रस्तावलाई समर्थन गर्दै नेता थापाले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकार नदेखिएको बताए ।

‘मधेस बाढीले सबैभन्दा पीडित छ भने पहाडको पीडा पनि कम छैन। काठमाडौं उपत्यकामा पनि मेरै निर्वाचन क्षेत्रको बुढानिलकण्ठमा पहिरोले थुप्रै मानिस पीडित छन्। सदस्यहरुले आफ्नो क्षेत्रमा पुगेर त्यहाँको अवस्था प्रस्तुत गर्नुभयो। सभापति शेरबहादुर देउवाले प्रदेश २ का विभिन्न जिल्लामा गएर अवलोकन गरेर सरकारको ध्यानाकर्षण गराउनुभयो’, उनले भने, ‘सबैको सार एउटै छ सरकार देखिएन, भेटिएन ।’

नेता थापाले विपदमा परेका सबै ठाउँमा पुग्ने इमान्दार प्रयास गर्न सरकारको ध्यानाकर्षणसमेत गराए। सरकारकाे इमान्दार प्रयासमा साथ रहने प्रतिबद्धता समेत जनाए ।

नेता थापाले भूकम्पका बेला मधेसका नागरिकलाई काठमाडौं तथा पहाडलाई सहयोग गरेको स्मरण गर्दै दुःखमा परेका नागरिकलाई सहयोग गर्न काठमाडौंवासीलाई अपिल गरे ।

उनले प्रत्येक वर्ष आउने विपद नियन्त्रणका लागि अहिले नै सोच्नुपर्ने र काम गर्ने तरिका बदलेर अघि बढ्नुपर्नेमा जोड दिए। ‘विकासको ढाँचालाई बदल्नै पर्छ’, उनले भने ।

नेता थापाले तत्काललाई राहत, उद्धार पुनर्स्थापना जुट्नुपर्ने आवश्यकता औल्याए ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्