पोखरा, ६ साउन २०७६ । गण्डकी प्रदेशले आफ्नो प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ । प्रदेश नीति तथा योजना आयोगले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्मको आर्थात् आगामी ५ वर्षको प्रदेश सरकारकोे आधारपत्र सार्वजनिक गरेका हुन् ।

आयोगले बनाएको प्राविधिक समितिले प्रदेश सरकारका मन्त्रीसँगै सांसद, विभिन्न विषयका विज्ञसहित सरोकारवाला निकायसँगको छलफलपछि तयार गरेको आधारपत्रलाई प्रदेश सरकारले १७ जेठ ०७६ स्वीकृत दिएपछि त्यसकै आधारमा आधारपत्र तयार गरिएको आयोगका उपाध्यक्ष डा। गिरिधारी शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको आधारपत्रसँगै प्राविधिक समितिले करिब दुई हजार जनाबाट प्राप्त सुझाब, ११ जिल्लामा गरिएको कार्यक्रमलगायतबाट आएको सुझाबको आधारमा आधारपत्र तयार गरेको समेत पौडेलले जानकारी दिनु भयो ।

प्रदेश सरकारले आव ०८०/८१ लाई अल्पकालीन, ०८६/८७ लाई मध्यकालीन र २१००/२१०१ लाई दीर्घकालीन परिमाणत्मक लक्ष्य हासिल गर्ने वर्षको रूपमा लिई सोहीअनुसार नीति तथा योजना र बजेट बनाउने जनाएको छ । सरकारले आव ०७५/०७६ देखि ०८०/८१ लाई औसत वार्षिक वृद्धिदर वर्षको रूपमा लिँदै १०।२ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ । त्यसैगरी आव ०८०/८१ देखि दिगो विकास लक्ष्यको अवधि ०८६/८७ सम्मलाई मानी समग्रमा आर्थिक वृद्धिदर १०।५ प्रतिशत हासिल गर्ने लक्ष्य समावेश गरेको छ । त्यसैगरी आव ०८७/८८ देखि २१००/२१०१ लाई दीर्घकालीन आर्थिक वृद्धिदर ०७५/७६ को स्थिर मूल्यमा वार्षिक ११ प्रतिशतले हुने अनुमान गरेको छ ।

समृद्धिका सात संवाहक र पाँच सहयोगी

प्रदेशले पर्यटन, कृषि, उर्जा, उद्योग, पूर्वाधार र मानवसंसाधन र सुशासन गरी सात क्षेत्रलाई प्रदेश समृद्धिका संवाहकको रूपमा लिएको छ । त्यसैगरी प्राकृतिक सौन्दर्य, जैविक विधिता, सामाजिक विविधताबीच एकता, साँस्कृतिक सम्पन्नतासँगै सहअस्तित्व र पहिचान तथा जनसाख्यिक लाभ गरी पाँच क्षेत्रलाई समृद्धिका लागि मुख्य सहयोगीका रूपमा यकिन गरिएको छ । उच्च उत्पादन, मर्यादित जीवन, सभ्य र न्यायपूर्ण आधुनिक समाज, वातावरणमैत्री, समावेशी, लोकतान्त्रिक र सुशासनको उच्च अभ्यास भएको समृद्ध प्रदेश बनाउने लक्ष्य आधारपत्रले राखेको छ ।

आवधिक योजनाका ३ उद्देश्य

उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु आफ्नो पहिलो उद्देश्य आधारपत्रले लिएको छ । प्रदेशले पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मानवसंशाधन विकासको माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि हासिल गरी समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नुलाई दोस्रो लक्ष्यका रूपमा लिएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छ वातावरणमा पहुँच पु¥याई सबै नागरिकलाई सामाजिक सुरक्षा र सुशासनको अनुभूति गराउने तेस्रो उद्देश्य लिएको छ ।

प्रतिव्यक्ति आयसँगै विभिन्न क्षेत्रमा आउने परिवर्तन

प्रदेश सरकारले प्रदेशको प्रतिव्यक्ति आय हाल १ हजार ४३ अमेरिकी डलर रहेकामा आव ०८०/८१, ०८६/८७ र २१००/२१०१ क्रमशः १ हजार ९ सय ५६, ३ हजार ७ सय २१ र १५ हजार ७ सय २९ पुर्‍याउने लक्ष्य लिएको छ । हाल गरिबीको रेखामुनि १४।९१ प्रतिशत जनसंख्या रहेकामा पाँच वर्षभित्रमा गरिबीको रेखामुनि कोही पनि नरहने अवस्था सिर्जना गर्ने लक्ष्य निर्धारण गरेको छ ।

१० खर्ब १२ अर्ब २४ करोड बजेट आवश्यक

यस पञ्चवर्षीय योजना अवधिमा औसत १०।२ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न कुल स्थिर पुँजी लगानी १० खर्ब १२ अर्ब २४ करोड आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसमध्ये सार्वजनिक क्षेत्रबाट ३ खर्ब ६० अर्ब ८३ करोड (३५।६ प्रतिशत), निजी क्षेत्रबाट ५ खर्ब ८७ अर्ब ९२ करोड (५८।१ प्रतिशत), सहकारी क्षेत्रबाट ४४ अर्ब ८ करोड (४।४ प्रतिशत) र सामुदायिक क्षेत्रबाट १९ अर्ब ४१ करोड (१।९ प्रतिशत) लगानी हुने अनुमान प्रदेश सरकारको आधारपत्रले गरेको छ ।

समृद्ध प्रदेश बनाउने लक्ष्य : मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई समृद्ध र सुखी बनाउने मुख्य लक्ष्य रहेको बताएका छन् । सरकारको नीति र योजनासँगै बजेटसमेत त्यसमै केन्द्रित गरी सरकार अघि बढेको उनको दाबी थियो । वार्षिक १० प्रतिशत आर्थिक वृद्धि हासिल गरी आगामी वर्ष २१०० सम्ममा विकसित राष्ट्रसरहको उच्च आय भएको समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्य आफूहरूको रहेको र त्यसलाई पूरा गर्ने गरी आधारपत्र बनाएको गुरुङको भनाइ छ ।

गत आर्थिक वर्षमा नीति निर्माणमा लागेको र कर्मचारी समायोजन तथा प्राविधिक कारणले घोषणा गरेअनुसार बजेट कार्यान्वयन गर्न नसकेको भन्दै उनले चालू आवमा विकास निर्माण तीव्र गतिमा अघि बढाउने र ९५ प्रतिशत उपलब्धि हात पार्ने दाबी थियो |

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्