काठमाडौंँ, ४ साउन २०७६ । आजभन्दा ५० वर्षअघि पृथ्वीका धेरै मानिसका लागि चन्द्रमा रहस्यको पिण्ड थियो । तर, सन् १९६९ जुलाई २० का दिनदेखि भने चन्द्रमा रहस्यको पिण्ड रहेन । त्यो दिन अमेरिकी अन्तरिक्ष यात्रीहरू निल आर्मस्ट्रङ र एड्विन अल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेपछि चन्द्रमा पृथ्वीजस्तै एक खगोलीय पिण्ड रहेको कुरा धेरैले पत्याए ।

त्यसपछि यसका भौतिक पक्षहरूबारे धेरै तथ्य बाहिर आइसकेका छन् । आजको दिनमा त्यहाँ जीवनको सम्भावना खोजीका अनेकौँ वैज्ञानिक परीक्षणसमेत भइसकेका छन् । चन्द्रमामा मानव पाइला पुग्नु खगोल विज्ञानकै सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक हुन पुग्यो । त्यो ऐतिहासिक उपलब्धि अर्थात् चन्द्रमामा मानवले पाइला टेकेको आज ५० वर्ष पुगेको छ ।

सन् १९६९ जुलाई १६ का दिन एपोलो ११ नामक यान तीन जना यात्री बोकेर त्यति बेला चन्द्रमाका लागि प्रस्थान गरेको थियो । नील आर्मस्ट्रङ, एडविन अल्ड्रिन र माइकल कोलिन्स त्यस यानमा थिए । यानबाट पहिलो पटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ थिए । आर्मस्ट्रङ र अल्ड्रिन तीन घण्टा चन्द्रमाको सतहमा हिँडेका थिए । । त्यतिन्जेल कोलिन्सले भने तस्बिर खिच्ने काम गरेका थिए ।

उनीहरूले चन्द्रमाको सतहबाट केही धुलो र चट्टान सङ्कलन गरी पृथ्वीमा समेत ल्याएका थिए । त्यही एपोलो–११ ले पृथ्वीमा ल्याएको चट्टानका केही टुक्रा नेपालमा पनि ल्याइयो । एपोलो मिसनका यी दुवै यानमार्फत ल्याइएको चट्टानका टुक्रा अहिले राष्ट्रिय सङ्ग्रहालय छाउनीमा छन् ।

राष्ट्रिय सङ्ग्रहालयको ‘ऐतिहासिक भवन’को ग्यालरीमा प्रदर्शनीका लागि सजाए राखिएको छ– चन्द्र चट्टान । एपोलो–११ ले ल्याएको चट्टानका चारवटा टुक्रा वि सं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

ती चट्टानका टुक्रा एपोलो–१० का चालकदलका एक सदस्य थोमस स्टाफोर्डले तत्कालीन राजा महेन्द्रलाई हस्तान्तरण गर्नुभएको थियो । कमान्डर स्टाफोर्डले राजा महेन्द्रलाई दिएको चन्द्र चट्टानको फोटोमा लेखिएको विवरणअनुसार कमान्डर स्टाफोर्ड सन् १९७० जनवरी ५ मा त्यति बेलाका अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्न्युको काठमाडौँ भ्रमणसँगै आउनुभएको थियो ।

त्यसपछि, नासाको एपोलो–१७ मार्फत ल्याइएको एक टुक्रा चन्द्रमाको चट्टान पनि राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ । एपोलो–१७ मिसन भने सन् १९७२ डिसेम्बर ७ देखि १९ मा सञ्चालन भएको थियो । यो चट्टानको नमुना चन्द्रमाको टौरस लिट्रो भ्यालीबाट ल्याइएको हो ।

चन्द्र चट्टान राखिएका यी दुवै प्लास्टिक प्लेक र झन्डा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अमेरिकी जनता र सरकारको तर्फबाट नेपाली जनताका नाममा उपहार पठाउनुभएको हो । चन्द्र चट्टानहरूसँगै दुईवटै अन्तरिक्ष यानले चन्द्रमामा पु¥याएर फर्काइएको नेपालको सानो आकारको दुईवटा झन्डासमेत सङ्ग्रहालयमा राखिएका छन् ।

सङ्ग्रहालयका टेक्सिडर्मी अधिकृत हरिकृष्ण श्रेष्ठका अनुसार आजसम्म यी चट्टानलाई एक पटक  लगिएको छ । एक दशकअघि यी चन्द्र चट्टान बुटवलको एक महोत्सवमा लगिएको थियो । त्यो महोत्सवमा सयौँ मानिस चट्टान हेर्न आएको स्मरण गर्नुहुन्छ उहाँ ।

विदेशका सरकार र सरकार प्रमुखबाट राजालाई प्राप्त भएको महत्वपूर्ण उपहारहरू सङ्ग्रहालयमा राखेर सबै नागरिकलाई जानकारी दिनुपर्छ भन्ने मान्यताअनुसार यी चन्द्र चट्टान यहाँ राखिएको राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले बताउनुभयो । तर यति महत्वपूर्ण वस्तु यहाँ भए पनि प्रचारप्रसारको अभावमा सर्वसाधारणको जानकारीमा भने नपुगेको उहाँ बताउनुहुन्छ ।

“विज्ञानमा पछि परेको नेपालजस्तो मुलुकमा चन्द्रमाको टुक्रा देखाएर, हेरेर विद्यार्थीलाई अन्तरिक्ष विज्ञान र प्रविधि अध्ययन गर्न प्रेरित गर्न सकिन्छ तर पर्याप्त जानकारी नहुँदा कतिपयलाई यो विषयमा थाहा नै छैन । ” उहाँले राष्ट्रिय सङ्ग्रहालयलाई थप विकास गर्ने आगामी योजनामा प्रचार र प्रवद्र्धनका विषयलाई समेत प्राथमिकतामा राखिने बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्