गोरखा, ३ साउन २०७६ । गोरखाको लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुन दौड हुने भएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(तान)ले पूर्ण म्याराथुन दौडको आयोजना गर्न लागेको हो ।

लिगलिगकोट द्रव्य शाहले दौडेर राजा भएको ऐतिहासिक स्थल हो । बारपाक २०७२ सालको भूकम्पको केन्द्रविन्दू हो ।

भूकम्पको दुश्प्रभाव केही पनि बाँकी छैन भन्ने सकारात्मक सन्देश प्रबाह गर्ने उद्देश्यले लिगलिग– बारपाक म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको धार्चे मनास्लु पर्यटन विकास समितिले जनाएको छ ।

तान र स्थानीय सरकारको समन्वयमा आउँदो साउन २५ गते म्याराथुन हुन लागेको समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । पालुङटार नगरपालिका, सिरानचोक, अजीरकोट र बारपाक सुलीकोट गाउँपालिका संग सहकार्य गरी म्याराथुन आयोजना गरिने गुरुङले बताए ।

लिगलिगकोटदेखि बारपाकसम्म ५० किलोमिटर दुरी अनुमान गरिएको छ ।

‘लिगलिगकोटदेखि सिरानचोक, भच्चेक हुदै बारपाकसम्म दौडको रुट तयार गरिनेछ’, गुरुङले भने, ‘अब भोलि वा पर्सि नै तानले विज्ञहरुलाई रुटको रेकी गर्नका लागि खटाउने छ । उहाँहरुको अध्ययन प्रतिवेदनपछि रुट तयार हुनेछ ।’ आन्तरिक तयारी पूरा भएपछि स्थानीय सरकारसंग र जिल्ला प्रशासन, सुरक्षा निकाय, पत्रकारहरुसंग पनि अन्तरक्रिया कार्यक्रम गरिने उनले बताए ।

भूकम्पपछि पदमार्ग लगायत पूर्वाधार ध्वस्त भएको गलत सन्देश यहाँको पर्यटन क्षेत्रमा क्षति पुगेकाले यथार्थ अबस्था बारे सर्वत्र जानकारी गराउने उद्देश्यले म्याराथुन गर्न लागिएको तानले जनाएको छ ।

म्याराथुन दौड गरिने रुटलाई नयाँ पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य पनि रहेको गुरुङले जानकारी दिए | daraudi

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्