पोखरा, १ साउन २०७६ । आठ वर्षको अवधिमा पोखरामा दोस्रो पटक पेनगन भेटिएको छ । लागुऔषध कारोबारको अखडा मानिएको पोखरामा असार २९ गते भने लागुऔषधसहित हतियार बरामद गरेपछि ‘पेनगन’ को रहस्य खुलेको हो ।

प्रहरीले पेनगन र लागुऔषधसहित कास्कीकोटका सागर रानाभाटलाई पोखराको मासबारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट लागुऔषधसहित एक थान ‘पेनगन’ र ०।२२ एमएमका सातवटा बुलेट पनि बरामद गरिएको थियो । यसअघि पनि लागूऔषध कारोबारकै मुद्दामा सजाय पाएर छुटेका रानाभाटसँग प्रहरीले १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरेको छ । रानाभाटको साथबाट फेनागरगन ६० थान, ब्रुपिनर्फिन ६०, डाईजेपाम ६० र नाईट्रोसन १५ चक्की फेला परेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखरामा भने, “काठमाण्डौंपछि देशमै दोश्रोपटक पोखरामा पेन गन फेला परेको हो । पहिले हामीलाई यो ठाउँमा लागुऔषध कारोबारी भन्ने सूचना पाएपछि हामीले नेटवर्किङ, नेक्सस हेर्‍यौं । सोही आधारमा रानाभाट पहिले पनि यस्ता गतिविधीमा संलग्न रहेको पाइयो, त्यसपछि खानतलासी गर्ने क्रममा ‘पेनगन’ पनि भेटेका हौँ ।”

‘पेनगन’ हेर्दा दैनिक प्रयोगमा आउने सामान्य पेनजस्तै आकारको देखिन्छ । फरक यति मात्रै छ कि, रिफिल हुने ठाउँमा स्प्रिङ र आउटरमा बुलेट राख्न मिल्छ । पेनको क्लिपले ट्रिगरको काम गर्छ ।

प्रहरीका अनुसार हलिउडका फिल्ममा प्रयोग हुने ‘पेनगन’ले नजिकको दूरीबाट मान्छे मार्न प्रयोग गरिन्छ । एसपी कार्कि भन्छन्, “लागुऔषध कारोबारीले आफूले प्रयोग गर्न, धम्क्याउनको लागि, लागुऔषध कारोबार चलाउने उद्देशश्यका लागि प्रयोग गर्न राखेको हुनसक्छ ।”

एसपी कार्कीले ब्याकग्राउण्ड, हिस्ट्री र ट्रयाक रेकर्डका आधारमा थप अनुसन्धान गरिने बताए ।

यसअघि ०६८ साल असारमा ‘पेनगन’सहित काठमाडौंबाट दुईजना युवा पक्राउ परेका थिए । संघीय राजधानी काठमाण्डौपछि पेनगन फेला परेको यो दोश्रो पटक हो ।

मुलुकमै दोश्रोपटक फेला परेको पेनगन नेपालमा नबन्‍ने र भारतीय नक्सलवादीहरुले प्रयोग गर्दै आएको प्रहरी अधिकारीले बताएका छन् । कास्की प्रहरी प्रमुख कार्की भन्छन्, “ पेनगन कहाँ ल्याइएको ठ्याक्कै यकिनै गर्न सकिँदैन, अनुसन्धान गर्दैछौँ, तर नेपालमा भने यो बन्दैन ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्