गोरखा, १ साउन २०७६ । हालसम्म जिल्लामा करिव ७५ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ । कुल लाभग्राही मध्य ५३ हजार १ सय २० जनाले अनुदान रकमको तेस्रो किस्ता लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

पुनर्निर्माण र प्रवलिकरणतर्फ गरी हाल सम्म लाभग्राहीको संख्या ७१ हजार १ सय ६२ रहेको इकाइ प्रमुख रामशरण आचार्यले जानकारी दिनु भयो । जसमध्य ६५ हजार ८०९ जना पुनर्निर्माण र ५ हजार ३५३ प्रवलिकरण तर्फ रहेका छन् ।

लाभग्राही मध्य पुनर्निर्माणतर्फ ६३ हजार ५ सय र प्रवलिकरणतर्फ एक हजार ८ सय १७ जनासँग सम्झौता भइसकेको आचार्यले जानकारी दिनु भयो  । ‘पुनर्निर्माणतर्फ ५९ हजार ३ सय ९६ जनाले दोस्रो किस्ता लगिसक्नुभएको छ,’, ‘प्रवलीकरणतर्फ दोस्रो किस्ता लाने ५२ जना मात्र हुनुहुन्छ ।’ उहाले भन्नु भयो ।

५३ हजार ८७ जना लाभग्राहीले पुननिर्माण तर्फ अनुदानको तेस्रो किस्ता पाएका छन् । प्रवलिकरणतर्फ तेस्रो किस्ता लिनेको संख्या ३३ रहेको इकाइको तथ्याङ्कमा उल्लेख छ । ‘प्रवलीकरण वाहेकको तथ्याङ्क हेर्ने हो भने निजी आवास पुनर्निर्माणको सम्पन्न भएको प्रतिशत करिव ८५ हो तर प्रवलिकरणको संख्यालाइ पनि जोड्ने हो भने करिव ७५ प्रतिशत हुन्छ,’ उहाले भन्नु भयो ।

५ हजार ८ सय ४५ ले गरेनन् सम्झौता

कुल लाभग्राही मध्य ५ हजार ८ सय ४५ जना भूकम्प पीडितले अनुदान रकमको सम्झौता गरेका छैनन् । सरकारले सम्झौताका लागि यही असार २१ गतेसम्म समय सीमा तोकेको थियो । तर, उनीहरु सम्झौता गर्न नआएको प्राधिकरणले जनाएको छ । ‘स्थानीय निकायबाट सम्झौता भएर आएका लाभग्राहीहरुको निकासा असार मसान्त सम्म निरन्तर चलिरहन्छ, त्यसैले यो संख्या घट्ने क्रममा छ,’ आचार्यले भन्नु भयो ।

पहिलो किस्ता लिएर दोस्रो किस्ता लिन नआउने लाभग्राहीको संख्या ५ हजार ८ सय ६९ रहेको जानकारी दिनु भयो । ‘उहाँहरुको खातामा पहिलो किस्ताको रकम गइसक्यो तर ६ सय ७० जनाले अझै पनि पहिलो किस्ताको रकम नलिएको भन्ने जानकारी आएको छ,’ उहाले भन्नु भयो ।

१ सय ७२ ले रकम फिर्ता

एक सय ७२ जनाले अनुदान रकम फिर्ता गरेका छन् । पहिलो किस्ता लिनेमध्य २१ जनाले स्वच्छिक रकम फिर्ता गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै, दोहोरो भुक्तानी लिने एक सय ४० जनाले पनि रकम फिर्ता गरेका छन् । ‘पहिलो किस्ता लिने १३९ र दोस्रो किस्ता लिने १ जनाले दोहोरो भुक्तानी लिनुभएकाले रकम फिर्ता गर्नुभएको हो,’ आचार्यले भन्नु भयो ।

‘दोहोर भुक्तानी फिर्ता गर्न भनेर ४० जनालाइ पत्राचार गरेका छौ अहिले प्रक्रियामै छ,’ कुल ९२ लाख ५० हजार अनुदान रकम फिर्ता भइसकेको उनले जानकारी दिनु भयो । त्यस्तै, २१ लाख फिर्ता गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।

गुम्वा पुनर्निर्माणको काम शुरु भएन

भूकम्पले क्षति पुगेका जिल्लाका गुम्वा पुनर्निर्माणको काम अझै शुरु हुन सकेको छैन । पुनर्निर्माण गर्नुपर्ने गुम्वाको संख्या ९१ रहेका छन् । तर हाल सम्म एउटा गुम्वा निर्माणका लागि मात्र सम्झौता भएको छ ।

त्यस्तै, १३ वटा गुम्वा मर्मत गर्नुपर्ने भए पनि हालसम्म काम शुरु भएको छैन । ‘एउटाको सम्झौता भएको छ, अरुको छैन,’ आचार्यले भन्नु भयो । केन्द्रबाट स्टमेट र डिजाइन नआउँदा काम शुरु गर्न नसकिएको उहाले बताउनु भयो । ‘पुरातात्विक सम्पदा कायम रहने गरी गुम्वा पुनर्निर्माण गर्नुपर्छ, माथिबाट स्टमेट र डिजाइन आउनुपर्‍यो अनि बल्ल काम शुरु हुने हो,’ उहाले भन्नु भयो ।

रकमको अख्तियारी ढिला आउँदा यस बर्ष मर्मतको काम समेत गर्न नसकिएको उहाले बताउनु भयो । गुम्वा पुनर्निर्माण र मर्मततर्फ यस वर्ष दुई करोड ८५ लाख रकम निकासा भएको थियो । भूकम्पले क्षति पुगेका गुम्वा पुनर्निर्माण र मर्मत गर्न कुल ३० करोड लाग्ने इकाइ प्रमुख आचार्यले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्