काठमाडौं, जेठ १६ –सरकारले हत्या अभियोगमा जेल सजाय भोगिरहेका पूर्वसभासद बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा जेल सजाय छुट दिएकोबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसद्मा विरोध गरेको छ । आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट प्रस्तुत गर्न मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक प्रारम्भमै कांग्रेस सांसदले उठेर विरोध गरेका हुन् ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठक प्रारम्भ हुँदै गर्दा सभामुख कृष्णबहादुर महरा कार्यसूचीमा प्रवेश गर्दै थिए । तर, एकाएक कांग्रेसका सांसदहरू उठे । दुवै सदनको संयुक्त बैठक भएकाले छेवैमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमेत थिए ।

सभामुख महराले सरकारको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकाले बस्न कांग्रेस सांसदलाई दुईपटक आह्वान गरे । तर, कांग्रेस सांसदहरू बसेनन् । त्यसपछि सभामुख महराले अवरोध गर्नुको कारण राख्न कांग्रेस सांसद गगन थापालाई समय दिए ।

सांसद थापाले द्वन्द्वका घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगले फैसला गर्ने भए पनि ढुंगेलको विषयमा सर्वोच्च अदालतले आफ्नोबारे प्रस्ट भनिसकेकाले यस विषयमा कुनै छुट र विशेषाधिकार सरकारलाई नहुने बताए । सरकारले ढुंगेलको चालचलन ठीक भएकाले सजाय छुट गरिएको भनेकोप्रति उनले आपत्ति जनाए ।

‘चालचलन ठीक छ भनेर सरकारले आफूलाई लागेको ढंगबाट निर्णय गर्न पाउँदैन । यो गणतन्त्र हो । हिजो राजालाई मन लागेको बेलामा तेरो चालचलन ठीक तेरो बेठीक भनिन्थ्यो । यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न । उहाँलाई लाग्यो भन्दैमा कसैको चालचलन ठीक र बेठिक हुँदैन । यो कानुनले व्याख्या गर्छ,’ थापाले भने ।

तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल मंगलबार जेलमुक्त भएका छन् । ४० प्रतिशत कैद भुक्तान गरेकाले सरकारले गणतन्त्र दिवसको अवसरमा उनलाई बाँकी कैद मिनाहा गर्दै रिहा गरेको हो । सरकारले आममाफी दिएपछि ढुंगेल मंगलबार बिहान साढे ७ बजे थोरै नेता कार्यकर्ताबीच जेलबाट बाहिर निस्किएका थिए ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्