काठमाडौं , २२ असार २०७६ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीमा आज (आइतबार) सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । प्रदर्शनकारीहरुले ‘यत्ति गर्दा पनि किन सुन्दैन ओली सरकार ?’,  ‘राष्ट्रवाद कता हरायो ?’, ‘विषादियुक्त तरकारी र फलफूल आयातमा रोक लगा’ लगायत नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खान बाध्य पारिएको भन्दै नेविसंघले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको हो । उनीहरुले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीले गोलभेँडा, लौका, बोडी गलामा झुन्ड्याएका थिए भने विभिन्न नारा लेखिएका प्लेकार्ड, ब्यानर पनि बोकेका थिए ।

सरकारले प्रयोगशाला अभाव देखाउँदै विषादी परीक्षण कार्य थालनी भएको दुई सातामै बन्द गराएको छ । सरकारको निर्णयपछि विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । यसको विरोधमा सामाजिक अभियन्तासँगै मुलुक नै लागेको छ । तर, सरकार तथा नेकपा इतरकाहरु भने मानवस्वास्थ्यसँग जोडिएको विषयमा मौन छन् । सामाजिक सञ्जालमा पनि यसको निकै आलोचना भइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्