एजेन्सी, २१ असार २०७६ । इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको छ । तर सेमिफाइनलको बरियता भने आज हुने खेलले टुङ्गो लगाउनेछ ।

प्रतियोगितामा आज दुई खेल हुँदै छ । समूह चरणमा एक एक खेल खेल्न बाँकी रहेका भारत र अस्ट्रेलियाले आज आफ्नो बाँकी खेल खेल्ने छन् । आजको खेलपछि सेमिफाइनलमा पहिलो हुने टोलीले चौथो टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ भने दोस्रो र तेस्रो टोलीले आपसमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

आजको पहिलो खेलमा भारतले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो सवा ३ बजे लिड्समा हुनेछ । भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने श्रीलङ्का समूह चरणबाट बाहिरिसकेको छ । त्यसै गरी आजै हुने दोस्रो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ ।

खेल साँझ सवा ६ बजे म्यानचेस्टरमा सुरु हुनेछ । अस्ट्रेलिया पनि एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको छ भने दक्षिण अफ्रिका समूह चरणबाट बाहिरिएको छ । आजको खेलले सेमिफाइनलको बरियताक्रम निश्चित हुने भएकोले आजको खेल भारत र अस्ट्रेलिया दुवैका लागि महत्वपूर्ण हुनेछ ।

यसैबीच विश्वकप क्रिकेटमा गएरातिको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी एक्लैले ६ विकेट लिएपछि समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको हो ।

पाकिस्तानले जिते पनि ऊ प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तान र न्युजिल्याण्डको समान ११ अङ्क भए पनि नेट रनरेटमा न्युजिल्याण्ड पाकिस्तानभन्दा अगाडि भएकोले न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएरातिको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले लर्डस्मा ३ सय १५ रन बनाएको थियो । ३ सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेश ४४।१ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रनमा समेटिएपछि पाकिस्तान ९४ रन अन्तरले विजयी भएको हो ।

पाकिस्तानको जितसँगै विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्