लिबिया, १९ असार २०७६ । लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको एउटा आप्रवासी बन्दी गृहमा लक्षित बम विस्फोटमा परि एक जना नेपालीको मृत्यु भएको छ ।

मंगलबार राति भएको बम विस्फोटमा परि २७ वर्षीय  सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

४० जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा मृत्यु राजदूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लिबियाले श्रेष्ठको मृत्यु भएको पुष्टी गरेको  राजदूतावासका चार्ज डी अफेयर्स सुजन बिडारीले जानकारी दिनुभयो । श्रेष्ठका बारेमा थप बुझ्ने प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।

यसैबीच पछिल्लो दुई महिनामा मात्रै लिबियाबाट २६ जना नेपालीको उद्दार भएको दूतावासले जनाएको छ । अन्य ८ जनालाई हिजो मात्रै उद्दार गरी टर्की हुँदै नेपाल पठाइएको जनाइएको छ । उद्धारको क्रम अझै जारी रहेको बताइएको छ ।

नेपाल लगायतका देशबाट मानव तस्करी गरेर इटाली लैजान लिबियाको बाटो प्रयोग गर्ने गरेको पाइएको छ । सो सम्बन्धमा  लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएको नेपाली टोलीले अनुसन्धान गरिरहेको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्