गोरखा, १८ असार २०७६ । गोरखा नगरपालिकाले ड्रोन क्यामेरा मार्फत योजनाको सर्भे र रेखाङ्कन सुरु गरेको छ । नगरक्षेत्र भित्र हुने बिकास निर्माण कामलाई योजनावद्ध रुपमा सञ्चालन गर्नका लागि ड्रोन क्यामेरा प्रयोगमा ल्याइएको हो ।

‘वैज्ञानिक ढङ्गले योजना सर्भे गर्नेका लागि हामीले ड्रोन प्रयोगमा ल्याएका हौं’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘यसले काम छिटो छरितो हुनुका साथै वास्तविक तथ्याङ्क निकाल्छ ।’ नगरपालिकामा प्राविधिक जनशक्तिको कमि रहेकाले विकास निर्माणका काम गर्न समस्या भएको भन्दै पन्तले अब ड्रोन मार्फत योजनाको सर्भे, सोको आधारमा डिजाईन र नक्साङ्कन हुने भएकाले आगामी वर्ष काम गर्न धेरै सहज हुने बताए ।

‘हामीकहाँ जनशक्ति थोरै छन्, गर्नु पर्ने काम धेरै छन्, इन्जिनियर प्राविधिक साथीहरुलाई फिल्डमा गएर काम गर्दा समय धेरै लाग्यो’ नगरप्रमुख पन्तले भने ‘ड्रोन मार्फत अफिसमै बसेर पनि धेरै काम गर्न सकिन्छ । फिल्डमै गइयो भने नि मानिसलाई ४÷५ दिन लाग्ने काम यसले १/२ घण्टामा गर्छ ।’

१५ लाख लागतम खरिद गरिएको उक्त क्यामेराले हावाको दुरीमा ८ किलोमिटर पर सम्म गएर दृष्य कैद गर्न सक्ने कम्प्युटर अधिकृत सुयोग खनालले जानकारी दिए । ड्रोन क्यामेरा मार्फत सर्भे र नक्साङ्कनको अलवा योजना अनुगमनको काम पनि गर्ने लक्ष्य लिइएको छ । ‘नगर क्षेत्रभित्र कहाँ के काम भइरहेको छ, कुन योजनाको प्रगति के छ ? भनेर स्थलगत रुपमै हेर्नुपर्ने अबस्थाको पनि अन्त्य भएको छ’ नगर प्रमुख पन्तले भने ‘अब हामी अफिसमै बसेर पनि हरेक योजनाको अनुगमन ड्रोन मार्फत गर्न सक्छौं ।’

उक्त क्यामेराले पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण काम गर्ने गोरखा नगरपालिकाले लक्ष्य लिइएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकिय नगरी गोरखाका महत्वपूर्ण स्थलहरुको दृष्य एवं तस्वीर खिचेर प्रचारप्रसार गर्ने योजना रहेको पन्तले बताए । ‘ड्रोन मार्फत भिडियो खिचेर डुकुमेन्टी बनाउँछौं, फोटो खिचेर प्रचार गछौं’ नगरप्रमुख पन्तले भने ‘जसले गर्दा गोरखामा थप पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’

ड्रोन क्यामेरा खरिदका लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख गरेको थियो । केही दिन अघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मार्फत स्वीकृति लिएको गोरखा नगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयको अनुमतीमा क्यामेरा उडाएको हो । गोरखा समाचार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्