पोखरा, १८ असार २०७६ । गण्डकी प्रदेशका सांसदहरुको लागि सुनजडित नयाँ लोगो बनाइने भएको छ । जुन लोगो हालको तुलनामा ३३ गुणा महंगो हुनेछ ।

गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको हो । लोगोको डिजाइन पुरानै भएता पनि धातुको रुपमा चाँदी प्रयोग गर्ने र बाहिरी कक्षमा भने सुन लेपन गरिनेछ । हाल प्रदेशका मुख्मयन्त्रीदेखि मन्त्री र सांसदहरुले प्लाष्टिकको लोगो प्रयोग गर्दै आएका छन् ।

नयाँ लोगोको मूल्य भने प्रतिलोगो छ हजार पाँच सय रुपैयाँ पर्नेछ । प्रदेशसभा सचिवालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा यससम्बन्धि प्रस्ताव पठाएको जनाएको छ । सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित ‘लोगो तथा पोशाक सिफारिस समिति’ ले गतवर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो ।

अहिले सांसदहरुले लगाएको लोगो एक वर्ष नपुग्दै धमिलिएको छ । “गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ,” समितिका सदस्य तथा सांसद हरिशरण आचार्यले भने, “डिजाइन चाहिँ पुरानै हुन्छ, त्यसमा प्रयोग हुने धातु चाहिँ प्लाष्टिक हुँदैन चाँदी हुन्छ र बाहिर चाहिँ सुन प्रयोग गरिएको हुन्छ ।” तर, यो लोगो भने नेपालमा तयार हुँदैन ।

चीनको सांघाई प्रान्तमा उक्त लोगो तयार हुनेछ र तयार भएपछि प्रदेश सांसदहरुले सुनजडित लोगो लगाउनेछन् । नयाँ लोगोको मूल्य भने हाल प्रयोग गरिएको भन्दा ३३ गुणा महँगो हुनेछ । अहिले सांसदहरुले लगाएको लोगोको मूल्य एक सय ९५ रुपैयाँको हो । प्रदेशसभा सचिवालयका अनुसार एक सय वटा प्लाष्टिकका लोगोहरु प्रतिलोगो एक सय ९५ रुपैयाँ तिरेर बनाइएको थियो ।

सोही डिजाइनलाई चाँदीमा उतार्ने र बाहिरी कक्षमा सुनको घेरो लगाएर तयार गरिने जनाइएको छ । “लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको हुनेछ,” सांसद हरिशरण आचार्यले जानकारी दिए । खुला प्रतिष्पर्धामा निर्मित लोगोको डिजाइन प्रदेशसभाकै कर्मचारी विनित रानामगरले गरेका हुन् । उनले बनाएको प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ । यसले क्रमश पहाडी क्षेत्र र भित्री मधेसको पहाडी क्षेत्रलाई चिनाउँछ ।

लोगोको माथिपट्टि देखिने हिमालले अन्नपूर्ण हिमाल क्षेत्रलाई जनाउँछ । हिमाली जिल्लालाई समेत यसले प्रतिनिधित्व गर्दछ । लोगोको दायाँबायाँ राखिएका धानको बाला समृद्धिका प्रतीक हुन् । नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ ।  यसले प्रदेशको भूगोल चिनाउँछ । उक्त भूगोलभित्र तराई क्षेत्रीय जिल्ला नवलपुरदेखि मनाङ, मुस्ताङका जातजाति अटाएका छन् । गण्डकी प्रदेशमा बोलिने भाषा, भेषभुषा र संस्कृतिको प्रतिनिधित्व गरेको छ । युवादेखि वृद्धहरुसम्म नक्सामा अटेका छन् ।

पहाडको काखबाट बहने नदीले गण्डकी प्रदेशको जलसम्भावनालाई प्रष्टयाउँछ । नदीको संकेतको वारिपारि गैँडा र जरायो चरेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गण्डकी प्रदेशका वन्यजन्तुको प्रतिनिधित्व यी जनावरले गरेका छन् । लोगोभित्रको डाँफे राष्ट्रिय पंक्षी हो ।

त्यसभन्दा तल लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको संकेत राखिएको छ । यी हातहरुमा पनि सुनको लेपन लगाइनेछ ।

यो लोगो बनाएबापत उनले २५ हजार रुपैयाँ पुरस्कार समेत पाएका थिए  प्रदेश सांसदहरुको ड्रेसकोड भने खैरो रंगको रहेको छ । प्रदेशसभा नियमावलीमा लोगोको व्यवस्था भने पछि थप गरिएको हो ।  गत जेठ २० गते तेश्रोपटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर लोगोको व्यवस्था गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्