सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो ? हामी भन्छौँ– आठ हजार आठ सय ४८ मीटर ! तर, अझै पनि सगरमाथाबारे माथापच्ची जारी रहेछ । सर्वोच्च शिखर भर्खरै टेकेका केही विदेशी चीनबाट जारी भएको प्रमाणपत्र देखेर अचम्म मानिरहेका छन् ।

आफ्नो देशबाट हिँड्दा आठ हजार आठ सय ४८ मीटरको सगरमाथा चढ्न तिब्बती मोहोडातर्फ हान्निएका ती आरोहीले फर्किदा ४ मीटर होचोको प्रमाणपत्र पाएपछि अचम्म नमानुन् पनि कसरी ? उनीहरुले नेपालको पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँग सोधे । नेपाल पक्षले ‘होइन’ भनिरह्यो, चीन पक्षले ‘हो’ मात्रै भनेन, नेपालले पुरानो उचाईलाई प्रचार गरेकोसमेत भन्न भ्यायो । यसो हुनुको कारण छ द माउण्टेरिङ एशोसिएसन अफ तिब्बतले आठ हजार आठ सय ४४ दशमलव १३ मीटर उचाइ किटान गरेर आरोहीलाई प्रमाणपत्र दिनु ।

सगरमाथालाई नेपाल र चीनको पानीढलोका रुपमा लिइन्छ । शिखर उही हो, चढ्ने ठाउँ वा बाटोमात्र फरक । मानौँ एउटा घरमा उक्लिने दुई भ¥याङ छन् । त्यो घर उत्तरी भ¥याङबाट चढ्दा एउटा उचाइको, अर्को भ¥याङबाट चढ्दा अर्को उचाइको कसरी हुन्छ ? तर, सगरमाथाबारे भइरहेको त्यस्तै छ । यसको उचाई आठ हजार आठ सय ४८ मीटर किटान गरिएको थियो, एक सय ६२ बर्षअघि । त्यसबेला २९ हजार २८ फिट, अर्थात् आठ हजार आठ सय ४८ मीटर कायम भएको हो । अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण संघ (युआइएए) ले संसारभरका हिमाललाई आधिकारिक मान्यता दिन्छ । यो संस्था विश्वका तीन लाख पर्वतारोही, ९१ पर्वतारोहणसम्बद्ध संस्थालगायत ६८ देशको सहभागितामा बनेको हो । यसले विश्वका हिमाललाई आधिकारिता दिँदा सगरमाथाको उचाइ ८८४८ मीटर नै मानेको छ ।

यही आधारमा नेपाल सरकारले आठ हजार माथिका १४ वटा हिमालको उचाइ, स्थानसहितको विस्तृत विवरण आधिकारिक तथ्याङ्कमा उल्लेख गरेको छ । चीनले सन् २००५ मा सगरमाथाको उचाइ मापन गर्दा चार मीटर होचो भई आठ हजार आठ सय ४४ मीटर उल्लेख गर्न थालेको हो । तर, नेपालको उचाई आठ हजार आठ सय ४८ लाई विश्वव्यापी रुपमा मान्यता दिएको बताउँछन्, नापी विभागका महानिर्देशक गणेश भट्ट । विभागले ‘डाइरेक्ट मेजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर, ट्रेंगुलेसन, गुरुत्वलाई आधार बनाई यस बर्षदेखि आधिकारिक उचाइ मापनकार्य थालेको छ । यो काममा भारत, चीनसहित १० देशका नापी विशेषज्ञ लागिपरेका छन् ।

सन् १९५३ को मे २९ तारिखको बिहान ११ः१५ बजे नेपाली नागरिक तेञ्जिङ शेर्पा र न्युजिल्याण्ड एडमण्ड हिलारीले सफल आरोहण गरेपछि सगरमाथासँग मानव सम्बन्ध जोडिएको हो । पिक १५ नामले चिनिने सगरमाथालाई सन् १८५५ मा सर्भे अफ इण्डियाले नापेपछि विश्वकै अग्लो कायम भएको हो । मापन कार्य गर्ने ब्रिटिश कोलोनी कायमै थियो । सर्भेयर कर्णेल सर जर्ज एभरेष्ट थिए । सर्भे गरी उचाई पहिचान भएको १० वर्षपछि, अर्थात् सन् १८६५ मा उनै कर्णेल एभरेष्टको नाममा ‘हिमाल चुचुरो’ भनेर चिनिने सगरमाथाको अंग्रेजी नामाकरण ‘माउन्ट एभरेष्ट’ राखिएको हो । त्यसअघि सन् १९५६ (वि.सं २०१२ साल) मा इतिहास शिरोमणि बाबुराम आचार्यले चुचुरोको नामाकरण ‘सगरमाथा’ गरेका हुन्, जसलाई तत्कालिन सरकारले सदर गरेको थियो । इटाली र नेशनल जियोग्राफीले पनि सगरमाथाको उचाई मापन गरेको, तर उनीहरुको उचाई परिणाम प्रयोगमा आउन सकेन । सगरमाथासहित नेपालमा आठ हजारभन्दा माथिका १४ हिमाल र चार सय बढी होचा हिमाल छन् । जनअास्था साप्तहिकबाट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्