चितवन, बैशाख २

अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको हो ।

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाँले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन आग्रह गर्नुभएको हो । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि उहाँले निर्देशन दिनुभएको हो । आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।

उहाँले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन आग्रह पनि गर्नुभयो । कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उहाँले अन्तः शुल्क संकलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताउनुभयो ।

सोही अवसरमा राजश्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिनुभएको थियो । निर्देशन पालना गर्दै लक्ष्य प्राप्तिमा भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा बाँकी लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन् । चालू आर्थिक वर्षको चैतसम्ममा रु २० अर्ब राजश्व संकलन भइसकेको छ । कार्यालयले यस आर्थिक वर्षमा रु ३० अर्ब राजश्व उठाउने लक्ष्य राखेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्