काठमाडौं, २७ चैत्र २०७५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार भएको शान्तिपूर्ण ऱ्यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको नेपाली काङ्ग्रेसले जनाएको छ । ऱ्यालीका सहभागीलाई मात्र नभएर सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई समेत प्रहरीले लाठीचार्ज गरेको भन्दै काङ्ग्रेसले आपत्ति प्रकट गरेको हो ।

काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै सरकारले स्वतन्त्र र शान्तिपूर्ण ढङ्गले आफ्नो माग राख्न पाउने नागरिकको संविधानप्रदत्त हक अधिकारलाई खोस्ने कार्य गरेको आरोप लगाउँदै भत्सर्ना गरेका छन् ।

‘कुनै पार्टीसँग हाम्रो विचारमा असहमत हुन सक्छ, तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति काङ्ग्रेस सदैव विरोध गर्दछ । प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको काङ्ग्रेस संसदीय दल शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’ नेता खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ज्ञातव्य छ, राप्रपाले सोमबार हिन्दुराष्ट्रको पुनर्स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यवृद्धि नियन्त्रणलगायतका माग राखी राजधानीमा शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दा लाठीचार्जसहितको व्यापक दमन गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्