काठमाडौं,२२ चैत्र २०७५ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि (शनिबार) सानेपास्थित केन्द्रिय कार्यालयमा अपराह्न एक बजे बस्दैछ । शनिबारको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल हुने पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिएका हुन् ।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् ।

केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्काे बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम गर्छ । काङ्ग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन् ।

काङ्ग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो, तर पार्टीभित्रै विधानविपरीत धेरै सङ्ख्या रहेको भनी आलोचना भएपछि विघटन गरिएको थियो । यसबाहेक बैठकले पार्टी विधानअन्र्तगतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधानसमेत पारित गर्ने नेता विश्वकर्मालाई उद्धृत गर्दै राससले जनाएको छ ।

यही चैत्र ५ गतेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिमा मीन विश्वकर्मा, जीवन परियार, इश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।

काङ्ग्रेसले पार्टीको संशोधित नयाँ विधानअनुसार संविधानबमोजिम बन्ने पार्टीका संरचनामा क्रियाशील सदस्यता वितरण विस्तार गर्न अभियान नै चलाउने जनाएको छ ।

यस्तै, बिहीबार राजधानीमा सम्पन्न काङ्ग्रेसका जिल्ला सभापतिको दुईदिने भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार गर्न माग गरे पनि त्यसबारेमा शनिबारको बैठकमा छलफल हुने सम्भावना न्यून रहेको बुझिएको छ । सो भेलामा संस्थापन पक्षका सभापतिको भने उपस्थिति थिएन ।

जिल्ला सभापतिले स्वतःप्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय महासमिति बैठकको भावनाविपरीत रहेको भन्दै त्यसमा पुनःविचार गर्न माग गरेका छन् । भेलाले काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार सबै पदाधिकारी र केन्द्रीय सदस्य पार्टीको वडा तहबाटै निर्वाचित हुनुपर्ने आग्रह तथा पार्टीको समानुपातिक आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र लागू हुनुपर्ने व्यवस्था गर्न माग गरेको थियो ।

महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा उक्त दुवै विषयबारेमा प्रमुखताका साथ कुरा उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्