काठमाडौं, चैत २२, २०७५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ करोड ९६ लाख रुपैयाँ मूल्यबराबरको करिब ६ किलो सुन बरामद भएको छ । हिजो साँझ थाई एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं ओर्लिएका चार भारतीय नागरिकलाई करिब ६ किलो सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जतिन जैन, सुनिता जैन, बबिता गर्ज र सरिता जैन छन् । जतिनबाहेक अरू सबै महिला हुन् । विमानस्थलको चेकजाँचबाट बाहिरिसकेपछि उनीहरूलाई प्रहरीले विमानस्थल गेटनजिक बनेको नयाँ भवनको पार्किङ क्षेत्रबाट पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले चार जना भारतीयसहित ५ किलो ८ सय १४ दशमलव ६५ ग्राम सुन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । ‘विशेष सूचनाका आधारमा हामीले विमानस्थलबाट बाहिरिँदै गर्दा सुनसहित चार भारतीयलाई पक्राउ गरेका हौं । पक्राउ परेका सबैलाई अनुसन्धानका लागि पठाएका छौं,’ एसएसपी भण्डारीले भने ।

एसएसपी भण्डारीका अनुसार बरामद सुन गहनाका रूपमा भित्र्याइएको देखिएको छ । प्रहरीले विभिन्न धातुमा बेलेर ल्याएको सुन सक्कली हो वा नक्कली ठम्याउन नसकेपछि बिहीबार राति नै चेकजाँचका लागि भन्सार विभाग पठाएको थियो । त्यसपछि चेकजाँचका क्रममा विभागले सुन सक्कली नै भएको प्रमाणित गरेको हो । सुनलाई बाला, सिक्री जस्ता गहना बनाएर मेटल कभर गरेर ल्याइएको थियो ।

यसअघि समेत पटक–पटक विमानस्थलबाट सुन तस्करी हुँदै आएको पाइएको छ । यसअघि चर्चामा रहेको ३८ क्विन्टल सुनसमेत विमानस्थल हुँदै भित्रिएको थियो । सो सुन काण्डबारे अझै पनि वास्तविकता पत्ता लाग्न सकेको छैन ।

खाडी तथा मध्यपूर्वका राष्ट्रबाट सुन तस्करी गरी भारत पु¥याउन नेपालको बाटो प्रयोग गर्ने गरिएको छ । पछिल्लो समय सडक यातायातमार्फत चीनको बाटो हुँदै समेत नेपालमा सुन भित्रिने गरेको छ । तस्करहरूले एकपछि अर्को गर्दै विभिन्न तरिका अपनाएर सुन तस्करी गर्दै आएको प्रहरीले बताउने गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्