काठमाडौँ, चैत १२ । सरकारले आसन्न लगानी सम्मेलनमा आर्थिक तथा सामाजिक परिवर्तनका विभिन्न अवयवलाई चलायमान गराउने योजना पेस गर्नेक्रममा शिक्षा र स्वास्थ क्षेत्रका तीन महत्वपूर्ण परियोजना अवधारणा लगानीकर्ता माझ प्रस्तुत गर्ने भएको छ । उच्चस्तरीय स्वास्थ्य सेवा तथा प्राविधिक तथा व्यावसायिक शिक्षालाई व्यापक गराउने सोचका साथ यी योजना बनाइएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

नेपालमा प्राविधिक जनशक्ति अभाव भइरहेको अवस्थामा प्राविधिक शिक्षालाई दृष्टिगत गर्ने गरी विश्वविद्यालय अत्यावश्क रहेको निजी क्षेत्रले पनि बताउँदै आएको छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा भन्नुहुन्छ, “नेपालमा डिग्री दिने शिक्षालय त धेरै छन् तर ती डिग्री काम नलागेपछि फ्याकेर मजदुरका रूपमा विदेसिनुपर्ने नियती नेपाली युवाले भोग्नुपरेको छ ।” विश्व बजारमा प्रतिस्पर्धी हुने गरी जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न आधुनिक विश्वविद्यालय नेपालमा अत्यावश्यक छ । “नभए त पढ्न पनि विदेश जाने डरलाग्दो अवस्था आइसक्यो नि”– उहाँले भन्नुभयो ।

गण्डकी प्राविधिक विश्वविद्यालय

गण्डकी प्रदेशको शुक्लागण्डकी नगरपालिकामा हाल रहेको भानुभक्त बहुमुखी क्याम्पस परिसर र आसपासमा निर्माण प्रस्ताव गरिएको यो योजनाका लागि करिब छ अर्ब ७१ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

बोर्डले पेस गर्न लागेको खाका अनुसार त्यहाँ मेडिकल साइन्स, इन्जिनियरिङ र पर्यटन तथा आतिथि सत्कार व्यवस्थापनका तीन मुख्य सङ्काय रहने छन् । मेडिकल साइन्सतर्फ तीन सय शय्याको उच्च प्रविधियुक्त विश्वविद्यालय अस्पताल रहनेछ । त्यस्तै, सिभिल, इलेक्ट्रिकल, कम्प्युटर तथा सूचना प्रविधिका विषयमा स्नातक तहसम्मको इन्जिनियरिङ क्याम्पस पनि त्यहीँ रहने छ । यस्तै पर्यटन र यसका अन्य अवयवमा जनशक्ति उत्पादन गर्ने गरी फेसन डिजाइन, प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र पनि यहाँ समेटिने बताइएको छ ।

नेपालमा प्राविधिक रूपमा शिक्षित जनशक्ति उत्पादन पनि नहुने र भएका जनशक्तिले पनि उपयुक्त अवसर नपाउने अवस्था हटाएर नेपाललाई आफैंमा एक शैक्षिक हबका रूपमा विकसित गर्नसकिने अवसर उक्त परियोजनाले उपलब्ध गराउने सम्भाव्यता लगानी बोर्डको कार्यालयले औँल्याएको छ ।

शिक्षा, खेल तथा स्वास्थ्य सहर परियोजना

देशका कुनै पनि उपयुक्त भू–भागमा सञ्चालन गर्नसकिने यो परियोजनाले निश्चित सहरलाई शिक्षा, स्वास्थ्य र खेलका हिसाबले आकर्षक केन्द्रका रूपमा विकासित गर्न चाहेको देखिन्छ । यो परियोजनामा एक विश्वविद्यालयको कल्पना गरिएको छ । जसले विभिन्न व्यावसायिक, प्राविधिक तथा कला क्याम्पस सञ्चालन गर्नेछ । यसमा तीन शय्याको अस्पताल पनि समेटिएको छ जहाँ व्यवस्थित र आधुनिक ब्लड बैङ्क पनि रहनेछ ।

विभिन्न खेलका लागि उपयुक्त हुने रङ्गशाला पनि यहाँ बनाउने खाका तयार पारिएको छ । व्यक्तिको शारीरिक स्फूर्ति कायम राख्ने गरी विभिन्न फिटनेस तथा खेल केन्द्र पनि यो क्षेत्रमा सञ्चालन हुनेछ । सबै खाले सेवा सुविधा सो क्षेत्रमा उपलब्ध हुने गरी रेष्टुराँ, बैङ्क, यातायात सुविधालगायतका पूर्वाधारलाई पनि यो परियोजनमा एकीकृत गरिएको छ । एक क्षेत्रको परियोजनाका लागि करिब ११ अर्ब रुपियाँलागत अनुमान गरिएको छ ।

राजधानी काठमाडौँ नजिकै रहेको धुलिखेल नगरपालिका विकसित गर्ने लक्ष लिइएको यो परियोजनामा चिकित्सा विज्ञान महाविद्यालय, शिक्षण अस्पताललगायतका पूर्वाधार बन्नेछन् । तीन सय शय्यासहितको अस्पतालमा नसर्ने रोगको विशेषज्ञस्तरको उपचार सेवा, ट्रमा सेन्टर अनुसन्धान केन्द्रलगायत योग तथा आयुर्वेदिक केन्द्रसमेत सञ्चालन गर्ने योजना यो परियोजनामा समेटिएको छ । यसका लागि आठ अर्ब १४ करोड रुपियाँ लगात अनुमान गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्