काठमाडौं, चैत ११

नेपाली श्रमिकले चासो पूर्वक हेरिरहेको जापान सरकारसँगको श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’मा नेपालले आज हस्ताक्षर गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापान सरकारका प्रतिनिधिबीच सम्झौता हुन लागको हो।

आउने अप्रिल १ देखि जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार लाने निर्णय गरेको छ । जापान सरकारले पहिलो पटक आप्रवासी कामदार (ब्लु–कलर)का रूपमा नेपालीसहित विभिन्न देशबाट कामदारलाई लिने प्रक्रिया अघि बढाएको थियो ।

यसअघि औद्योगिक प्रशिक्षार्थी मात्र लिने जापानसँग कामदार समेत लिने विषयमा सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। यसका लागि नेपाल र जापानबीच दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्टसमेत आदानप्रदान भइसकेको छ।

दुई देशबीच सहकार्य गर्ने समझदारी(एमओसी)पछि जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजानेछ। समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन्। जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह उत्तीर्ण व्यक्ति जापानका लागि योग्य हुनेछन् । सबै विदेशी कामदारलाई जापानले आफ्ना नागरिकसरह तलबसहितको सेवा सुविधा दिनेछ ।

केही समयअघि विदेशी कामदार आकर्षित गर्न जापानले १ सय २६ वटा नयाँ नीति लागू गरेको छ। थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इन्डोनेसियन र फिलिपिनी (ट्यागलोग) कामदार आकर्षित गर्ने नीति जापानको छ। यसमा पछिल्लो समय नेपाल पनि थपिएको थियो।

कम्तीमा ३ लाख ४५ हजार १ सय ५० विदेशी कामदारलाई रोजगारी भिसामा भित्र्याउने तयारी जापानको छ। जसमध्ये २५ हजार देखि ३० हजारसम्म नेपाली कामदार आपूर्ति गर्न जापान सरकारलाई अपिल गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

सन् २०१९ को अप्रिल महिनादेखि नर्स, केयर गिभर, लजिङ, रेस्टुरेन्ट र होटलका लागि जापानी भाषा परीक्षामार्फत कामदार लिने योजना अघि सारेको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्