काठमाडौँ, ४ चैत्र २०७५ । केन्द्रीय समिति बैठकअघि सहमतिको प्रयास स्वरुप आज बसेको नेपाली कंग्रेसका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । सहमतिको प्रयास स्वरुप सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मनाउन बैठक बोलाउनु भएको थियो ।

राजधानीको बुढानिलकण्ठस्थित देउवा निवासमा बसेको बैठकमा सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा भने आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

करिब ५ घण्टा चलेको बैठकमा सभापति देउवाले असन्तुष्ट समूहलाई मनाउने प्रयास गर्नुभएको स्रोतको दाबी छ । केन्द्रीय समिति बैठक भोली बस्नु अघि शीर्ष नेता बसेर टुंगो लगाउने सहमति भएको प्रवक्ता शर्माले बताउनुभयो । सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा बैठकमा आए पनि सहमतिको अन्तिम बिन्दुमा भने नेताहरु पुग्न सकेनन् ।

पार्टी विधान बहुमतबाट निर्णय गराएपछि सभापति देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह असन्तुष्ट छ । सिटौला समूहले भने आजको वैठक समेत वहिस्कार गरेको थियो ।

सिटौला र पौडेल पक्षले यसअघी राजधानीको चाक्सीबारीमा गत फागुन २२ गते आन्तरिक भेला गरेर नेतृत्व सहमतिकासाथ अघि नबढे केन्द्रीय समिति बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए । त्यसको भोलिपल्टै सभापति देउवाले चैत ४ का लागि केन्द्रीय समिति बैठक डाक्नु भएको थियो । यस्तै संस्थापन र इतर समूहबीच अनुशासन र निर्वाचन समिति गठन प्रक्रियामा विवाद छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्