गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले निर्मला घटना देशकै लागि चासो र चिन्ताको विषय भएकाले अनुसन्धान निरन्तर भइरहने बताए ।
‘अनुसन्धान यहाँ पुग्यो, त्यहाँ पुग्यो भनेर म भन्दिनँ,’ बिहीबार नेपाल प्रेस युनियनले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘यसलाई थप गम्भीरता र थप सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढ्छ ।’ मन्त्री लेखक आफै पनि निर्मला घटनापछि भएको आन्दोलनमा सहभागी भएका थिए
निर्मला हत्या घटनापछि भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चलगायत अन्य सहयोग पनि उपलब्ध गराइने मन्त्री लेखकले बताए । गृह मन्त्रालयले उनीहरुलाई उपचार खर्च दिने भनेपछि पछिल्लो समय रोकिएको छ । उपचार खर्च तत्काल उपलब्ध गराइने उनले बताए ।
मन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच बनेको समिकरण २०८४ सम्मै जाने बताए । ‘सात बुँदे सहमतिअनुसार सरकार फेरिन्छ, तर समिकरण यही रहन्छ,’ उनले भने, ‘जसरी सम्झौता भएको छ, त्यहीअनुसार समीकरण अगाडि बढ्छ ।’
- ADVERTISEMENT -
उनले कांग्रेस र एमाले मिलेरमात्रै संविधान संशोधन नहुने पनि बताए । यसका लागि सबै मुख्य दलहरुलाई सहमतिमा ल्याइने बताए । ‘जसरी मुख्य दलहरु मिलेर संविधान निर्माण भएको थियो, त्यसैगरी सबै मिलेर संशोधन पनि गरिन्छ,’ उनले भने, ‘वार्ता, संवाद र सहमतिबाटै संशोधन गरिन्छ, यसमा कसैले झस्किनुपर्दैन ।’
मन्त्री लेखक महेन्द्रनगरमा निर्माण भएको प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटनसँगै असार अन्तिम साता आएको बाढीले जिल्लाका विभिन्न स्थानमा भएको क्षतिबारे जानकारी लिए गृहजिल्ला पुगेका हुन् ।