बागलुङ, सोमबार, १४ चैत्र २०७८ । ऐतिहासिक महत्वको सिगाना कोत घरको पुनर्निर्माण गर्न थालिएको छ । बाइसे चौविसे राज्यका पालामा भुरे टाकुरे राजाले राज्य गरेको सिगाना कोतघरलाई पुनःनिर्माण गर्न थालिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ८ स्थित कोतघरलाई पुरानो शैलिमा पुननिर्माण गर्नका लागि गत वर्षनै गुरु योजना बनाइएको थियो ।
नेपाल एकीकरण पूर्व राजा रजौटाहरुले स–साना राज्यहरु सञ्चालनको क्रममा सिगानामा समेत राज्य सञ्चालन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्वको कोत घर संरक्षणका लागि गुरु योजना बनाएर अघि बढेको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष जित बहादुर जिसीले जानकारी दिनुभयो । कोत घर पुन निर्माणका क्रममा गत वर्ष केही पर्खालहरु समेत लगाइएको थियो । पर्खालको जग खन्ने क्रममा पुरातात्विक बस्तु ओखल, इट्टा तथा माटाका भाडाहरु समेत फेला परेका छन् ।
यस क्षेत्रमा पहिला राजाको दरबार लगायतका संरचना भएको जमिनमुनी भेट्टीएका पुरातात्विक बस्तुहरुले समेत प्रमाणित गरेका छन् । बाइसे चौविसे राज्यका पालामा यहाँ भूरे टाकुरे राजाहरुले सिगाना, रेश, तित्याङ तथा रायडाँडामा आफ्नो राज्य सञ्चालन गर्ने गरेका थिए । अहिले दशैको अघिल्लो दिन मेला लाग्ने परम्परा भएपनि ऐतिहासिक कोत संरक्षणको अभावमा मासिएको थियो ।
स्थानीयकै सक्रियतामा पुरानो कोत नजिकै छेउमा सानो मन्दिर बनाएर पुजा आजा गर्दै आएपनि पुरानो संरचना संरक्षणको अभावमा एक सय वर्ष अघिनै विलय भएको छ । तर परम्परागत शैलीमा कोतको पुनःनिर्माण गर्नका लागि प्रारम्भ गरिएको जिसीले बताउनुभयो । “हाम्रो गुरु योजना रु. एक करोड २२ लाखको हो, अहिले बागलुङ नगरपालिकाले ११ लाख बजेट विनियोजन गरेको छ जस्लाई कार्यान्वयन गर्न स्थानीयले ११ लाख खर्चनु पर्ने हुन्छ” जिसीले भन्नुभयो “अहिले स्थानीयको सहयोग र नगरपालिकाको रकमले पुनःनिर्माणको कार्य अघि बढ्छ अहिले मुख्य कोत मन्दिरमा मात्रै निर्माण हुँनेछ, बागलुङ नगरपालिकाले थप २० लाख अर्को शिर्षकबाट ठेक्का गर्न थालेको छ ।”
जिसीका अनुसार अहिले मुख्य कोतमात्रै पुननिर्माण गरिने भएपनि बजेट थप हुँदै गएपछि पुन गुरुयोजना अनुसार अन्य संरचना निर्माण गरिने छ । गुरुयोजना अनुसार संरचना निर्माण गर्दै जादा पुननिर्माणमा सहजता हुँने उहाँको भनाई छ । रु. एक करोड २२ लाखको गुरुयोजनामा मुख्य मन्दिर, सत्तल, पर्खाल, पदमार्ग, शौचालय र बगैचा निर्माण गरिने योजना रहेको छ ।
अहिले पहिलो चरणको स्थानीय साझेदारी योजना अन्तर्गत सहयोग रकम उठाउन थालिएको छ । कोत पुनःनिर्माणमा स्थानीयको समेत साझेदारी हुँने स्थानीय भद्र बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार झण्डै सात रोपनी जग्गामा फैलिएको कोतको जग्गा संरक्षण संगै अन्य भौतिक संरचना निर्माणका लागि स्थानीयले समेत साझेदारी गर्नका लागि रकम सहयोग गर्ने भएका छन् ।
कोत पुनर्निर्माणमा बागलुङ नगरपालिकाले आवश्यक सहयोग गर्ने र थप बजेटका लागि प्रदेश र संघ सरकारलाई पहल गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले सिगानाको कोत मन्दिरलाई ऐतिहासिक तथा पुरातात्तिक महत्वको हिसावले प्राथमिकतामा राखेर पुननिर्माण गर्ने बताउनुभयो ।