नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताएका छन् । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आयोजना गरेको अन्तक्र्रियामा उनले आत्मनिर्भर अर्थतन्त्रको जगका रूपमा कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए ।
आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा सिफारिस हुनु उपलब्धि भएको उल्लेख गर्दै उनले दिगो विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा १४ सूचकहरूमा सन्तोषजनक प्रगति भएको बताए । सोही कारण नेपालले समयभित्रै दिगो विकास लक्ष्य पूरा गर्ने अवस्थामा रहेको उल्लेख गरे । तथापि, दिगो विकासको लक्ष्य हासिल गर्ने अवस्थामा देशको अर्थतन्त्र नै धराशायी अवस्थामा पुग्ने हो कि भन्ने खतरा रहेको उनको भनाइ थियो ।
एमाले अध्यक्ष ओलीले कोभिड महामारीको जोखिम विश्वव्यापी रूपमै करिब नियन्त्रणको बाटोमा रहेकाले अब आर्थिक गतिविधि लयमा फर्कने विश्वास व्यक्त गरे । मुलुकको विद्यमान अर्थतन्त्रको अवस्था सार्वजनिक गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षणसमेत गराए । कार्यक्रममा पूर्वउद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले खस्किँदो अर्थतन्त्रलाई उकास्न र उद्योगी–व्यवसायीको समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले पर्यटन क्षेत्रमा करिब ८० प्रतिशतले गिरावट आएको बताइन् । ‘अहिलेको हाम्रो समस्या व्यापार घाटा हो, त्यसो हुँदा पहिला हामी आत्मनिर्भर बन्नतर्फ लाग्नुपर्छ,’ उनले भनिन्, ‘व्यापार घाटा घटाउन पेट्रोलियमको विकल्पमा जलविद्युत्को प्रयोग बढाउनुपर्छ ।’
- ADVERTISEMENT -
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आजको दिनमा उद्योगी–व्यवसायीहरू सबैभन्दा कमजोर मनोबलमा पुगेको बताए । ‘एउटा उद्यमीले नयाँ व्यवसाय गर्न ऋण पाइरहेको छैन, ब्याजदर एक वर्ष पहिला ७–८ प्रतिशत रहेकोमा अहिले १४–१५ प्रतिशत पुगेको छ,’ उनले भने, ‘आयातमा एकपछि अर्को अवरोध सिर्जना गराइएको छ ।’ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक रूपमा पार्टीहरूका अलग–अलग मान्यता रहे पनि अर्थतन्त्रको विषयमा समान धारणा बनाउनुपर्ने बताए ।