काठमाडौँ , ४ बैशाख २०७७ । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकमाथि हातपात प्रकरणपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) तानिएका छन् ।
साथै उक्त घटनाको छानबिन गर्न बरिष्ट उपरिक्षक किरण बज्राचार्यको संयोजकत्वमा छानविन समिति पनि गठन गरेको महानगरीय प्रवक्ता श्यामलाल ज्ञावालीले जानकारी दिए ।
आवश्यक छानविन तथा कारबाहीका लागि महाराजगञ्ज वृत्तका इन्चार्जसमेत रहेका डिएसपी लम्साललाई मेट्रो तानिनुका साथै उक्त घटनामा संलग्न अन्य प्रहरीलाई समेत मेट्रोमा झिकाइएको ज्ञावालीले जानकारी दिए ।
साथै चिकित्सकहरु माथि भएको हातपातको मेट्रोले दुःख समेत प्रकट गरेको छ ।
बुधबार बेलुका ड्युटी सकेर फर्कदै गरेका त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको आरोप प्रहरी माथि छ । लकडाउनका बेला अस्पतालबाट ड्युटी सकेर डेरातर्फ जाने क्रममा डा.शम्भु खनाल, डा. तेजप्रकाश साह र डा. विकास शाहमाथि प्रहरीले कुटपिट गरेको बताइएको छ ।