काठमाडौं, २७ चैत २०७६ । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु भोलि शुक्रबार र शनिबार उपत्यकाबाहिर जान पाउने भएका छन् ।
आज बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले काठमाडौं बाहिर जाने गाडी खुलाउने निर्णय गरेसँगै उपत्यकामा रहेकाहरु आफनो घर फर्कन पाउने भएका हुन् ।
भोली र पर्सी उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन् भने बाहिरबाट उपत्यकामा गाडी भित्रन भने पाउने छैनन् ।
लकडाउन लम्बिएपछि मानिसहरु हिँडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
साथै, आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको बुझिएको हो ।