कैलाली, २६ चैत २०७६ । अहिले विश्व नोबेल कोरोना भाइरस (कोभिड-१९) को त्रासमा छ । झन्डै २०८ राष्ट्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिरहेको छ ।
यसको जोखिम कम गर्न र यसलाई नेपाली समुदायमा फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनको जनताले पालना गरिरहेका बेला छिमेकी राष्ट्र भारतमा काम गर्ने नेपालीहरु लुकिछिपी आफ्नो ठाउँ आउने क्रम भने रोकिएको छैन ।
सरकारले भारतसँग जोडिएका सबै नाकाहरु बन्द गर्नुका साथै देशलाई नै लकडाउन गरेको बेला यसरी लुकिछिपी आएकाहरुबाट समुदायमा कोरोना संक्रमण फैलिनसक्ने आशंका नागरिकले गरेका छन् ।
आधिकारिक नाकाहरु बन्द हुदा भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु लुकिछिपी घाट वा नदिमा कम पानी हुने ठाउँबाट आइरहेका छन् । यो बाहेक उनीहरू लुकेर नेपाल छिर्न सक्ने अन्य विकल्प छैन तर यसतर्फ स्थानीय तह र प्रशासनको भने ध्यान गएको छैन । नेपालमा बिदेशबाट आएका ८ जना र समुदायस्तरमा फलिएका १ जना गरि ९ जनालाई कोरोना संक्रमण देखिएको छ । जसबाट एकजना संक्रमित सञ्चो भएर अस्पताललाई डिस्चार्ज भैसकेका छन भने ८ जनाको विभिन्न अस्पतालमा आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।
गत शनिबार नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएकोमा एकजना संक्रमित व्यक्तिबाट सरेको भेटिएपछि नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको छ र यसले आमजनसमुदाय त्रासमा रहेको बेला भारतमा तिब्र गतिमा फैलिरहेको कोरोनाका कारण भारतबाट नै लुकिछिपी नेपाल आइरहेका नेपाली नागरिकदेखी नागरिक थप त्रासमा छन् ।
जानकी गाउँपालिका वडा नम्बर ६ का एकजनाले नाम नभन्ने सर्तमा रातिराती खेतबाट लुकेर झोला भिरेका केही मान्छेहरु हिन्ने गरेको बताइन । उनले तिनीहरु पक्कै पनि भारतबाट लुकेर नेपाल आएका हुनसक्ने आशंका गर्दै यो प्रविर्तीले थप त्रासपुर्ण वातावरण सिर्जना गरेको बताइन ।
उनले खेतबाट हुँदै बाटोमा आउने र होहल्ला गर्दै आफ्नो घरतर्फ लाग्ने गरेको देखेको बताउदै उनीहरु कहाँ गैरहेका छन र कहाँबाट आएका हुन त्यो चै एकिन थाहा नपाएको बताउदै झोला बोकेर आएको देखेपछि पक्कै भारतबाट आएको हुनसक्ने शंका गरेको जानकारी दिइन । कोरोना भाइरस खुल्ला हावामा ८ घन्टासम्म बाच्न सक्ने जानकारी पाएकी उनले कोठाभन्दा बाहिर निस्कन सक्ने वातावरण समेत नरहेको बताइन । यस्ता कार्यहरु रोक्न प्रहरी प्रशासन समेत असफल भएको बताउदै दिनमा एकपटक पनि प्रहरीलाई गाउँमा नदेखेको समेत दुखेसो पोखिन ।
त्यस्तै टीकापुर नगरपालिका ३ का एक स्थानीयले समेत रातिको समयमा समुहबद्ध रुपमा नै केही मान्छेहरु हल्ला गर्दै बाटोमा हिड्ने गरेको बताएका छन् । उनले झ्यालबाट हेर्दा झोलासहित रहेका मान्छेहरु दिनदिनै आफ्नो घर अगाडिको बाटोबाट हिड्ने गरेको बताउदै उनीहरू भारतबाटै लुकेर नेपाल छिरेका हुनसक्ने बताए ।
टीकापुर नगरपालिका र भजनी नगरपालिकाका भारतसँग सिमा जोडिएका आधिकारिक नाकाहरु त बन्द छन तर यी यस्ता केही ठाउँ पनि छन जहाँबाट सहजै वारपार गर्न सकिन्छ । यसकारण पनि स्थानीयहरुले भारतबाट नेपालीहरु लुकेर आउने गरेको शंका गर्न बाध्य छन । ती सहज रुपमा आउन सकिने घाट वा सिमामा सुरक्षाकर्मीको टोलीसमेत छैन । यसरी भारतबाट लुकेर आइरहेका मानिसहरु क्वारेन्टाइनमा पनि आउदैनन र स्थानीय तहसँग उनीहरुलाई क्वारेन्टाइनमा ल्याउन डाटा समेत छैन । लुकेर आएका मानिसहरु छिमेकी समेत प्रहरी वा स्थानीय तहलाई जानकारी दिनसमेत डराउछन । यदि दिइहाले पनि कसैले मतलब नगर्ने स्थानीयहरु बताउछन् । यस्तै घटना भएको थियो जानकी गाउँपालिका ३ मा । रातिको समयमा एक व्यक्ति परिवारसहित लुकेर घर आए । उनी आएको खबर एक स्थानीयले चिनेको सञ्चारकर्मीमार्फत स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई जानकारी गराइन तर उनले यसलाई हल्का रुपमा लिएर कुनै मतलब गरेनन । सम्भवत उनीहरु अहिलेसम्म पनि जानकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छैनन् ।
११ गतेदेखि देश लकडाउन भएदेखी आधिकारिक आवतजावत बन्द छ र स्थानीय तहसँग त्यो भन्दा अगाडी आवतजावत भएका मानिसहरुको मात्र तथ्यांक छ । तर त्यसपछि नाका बन्द भएपछि कोहि पनि आधिकारिक नाका हुँदै भित्रिएका छैनन् र तथ्यांक पनि छैन तरपनि भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपाली हिडेरै लुकिछिपी आआफ्नो गन्तव्यतर्फ आइरहेका छन् । तिमध्ये कोहि कोरोना संक्रमित भएको भए समुदायमा फैलिनसक्ने भन्ने त्रास जनसमुदायमा छ । यसलाई रोक्न स्थानीय तह र प्रहरी, प्रशासनले ठोस कदम चाल्नुपर्ने देखिन्छ ।