- ADVERTISEMENT -

सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने

June 24, 2019
796
Shares
- ADVERTISEMENT -

अमलेखगन्ज (बारा), ९ असार ९ २०७६ । सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ ।

निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो । नेपाल आयल निगमका अनुसार मुलुककै पहिलो यो अन्तरदेशीय पाइप लाइनबाट डिजेल र पेट्रोल आयात सुरु हुने छ । निगमका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि मुख्य काम सम्पन्न भइसकेको छ, केही सहायक काम मात्र बाँकी छन् ।

- ADVERTISEMENT -

Advertisement

निगमका आपूर्ति तथा वितरण विभागका उपमहानिर्देशक विनीतमणि उपाध्यायले मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट असार अन्तिमदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भारतको सो सडकखण्डमा पेट्रोलियम पाइप लाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

बिछ्याइएको पाइपको परीक्षण पनि सम्पन्न भइसकेको छ । हाल पाइप लाइनबाट आउने पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि डिपोको संरचना तयार भइरहेको बताउँदै उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको भण्डारणका लागि निर्माण गर्नुपर्ने चारवटा ‘भर्टिकल टयाङ्क’मध्ये तीनको निर्माण सम्पन्न भइसकेको छ, एउटाको निर्माण अन्तिम चरणमा छ । ”

‘भर्टिकल टयाङ्क’को निर्माणपछि डिपोभित्रै थप पाइप जडान गर्ने, भल्भहरू बनाउने, ‘लोडिङ’का उपकरण जडान गरिने लगायतका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उपमहानिर्देशक उपाध्यायले सुरुमा हरेक दिन बीस घण्टा ‘अप्रेसन’मा ल्याइने र प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आयात गरिने बताउनुभयो । उहाँका अनुसार सुरुमा डिजेल मात्र आपूर्ति गरिने छ । बिस्तारै डिजेलका साथै पेट्रोल पनि आपूर्ति गरिने छ ।

चार अर्ब बचत
यो पेट्रोल पाइप लाइन सञ्चालनमा आएसँगै वार्षिक करिब चार अर्ब रुपियाँ पेट्रोलियम पदार्थ ढुवानी खर्च बचत हुने जानकारी उपमहानिर्देशक उपाध्यायले जानकारी दिनुभयो । नेपालमा आयात हुने पेट्रोलिय पदार्थको पचास प्रतिशतभन्दा बढी पेट्रोलिय पदार्थ मोतिहारी–रक्सौल–अमलेखगन्ज नाकाबाट आयात हुने गर्छ । वर्तमान ढुवानी प्रणालीमा भएका विविध समस्याका कारण भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्ने आवश्यकता आजभन्दा २५ वर्षअघि नै महसुस गरिएको थियो ।

पेट्रोलियम पाइप लाइन आधुनिक युगको इन्धन आयात गर्ने वैज्ञानिक पद्धति हो । नेपाल र भारतमा गरी कुल ६८.९ किलोमिटर लम्बाइको यस पाइप लाइन परियोजनामध्ये नेपालतर्फ ३६.२ किलोमिटर छ । यस परियोजनाको कुल लागत भारतीय रुपियाँ चार अर्ब २० करोड छ । त्यसमध्ये भारतले तीन अर्ब २० करोड सहयोग गरेको छ भने नेपालले एक अर्ब ६० करोड लगानी गरेको छ ।

२०७४ चैत २४ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा यस परियोजनाको शिलान्यास गर्नुभएको थियो । त्यसैगरी यस परियोजनाका लागि नेपालका तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ भदौ ७ गते मन्त्रीस्तरीय सम्झौता भएको थियो । समझदारी पत्र (एमओयू) अनुसार तीस महिनाभित्रै सम्पन्न गर्ने गरी काम सुरु गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -