काठमाडौं, ४ असार २०७६ । बुधबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारीहरुले गरेको फोहोर उनीहरु आफैले नै टिपेका छन् ।
आन्दोलनकारीहरुले फ्याकेका पानीका बोतल, जुसका प्याकेट, चाउचाउ खोल, आन्दोलनकारीहरुले प्रयोग गरेका प्लेकार्ड, ब्यानरहरु लगायतका फोहोरहरु बाटामा छरिएका छरफस्ट फोहोरहरु आन्दोलनका स्वयंसेवक टोलीहरुले टिप्दै जम्मा गरेका हुन् ।
माइतीघर लगायत थापाथली र बानेश्वरका सडकसम्म उत्रेका आन्दोलनकारीले गरेका फोहोर टिपेर उनीहरुले सभ्यताको परिचय दिएका हुन् । स्वयमसेवकहरुले प्लाष्टिकका ठूला प्याकेट बोकेर प्लाष्टिकका बोतल तथा अन्य फोहोरहरु संकलन गरिरहेका थिए।
त्यती मात्र होइन प्रदर्शनका क्रममा सवारी आगमन ठप्प भएको सडकमा प्रदर्शनकारीहरुले एम्बुलेन्सलाई स्कर्टिङ् गर्दै अगाडि बढ्न सहयोग समेत गरेका थिए। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनलाई भिडको बीचबाट जान बाटो खुलाउन आन्दोलनकारीहरु आफैले सहयोग गरेको देखिएको थियो।
प्रदर्शनको क्रममा जथाभावी फोहोर नफाल्न, फोहोर संकलन गर्न तथा अत्यावश्यक सवारी साधनलाई आवातजावतमा सहयोग गर्न माइकिङ् समेत गरीएको थियो ।
मध्य गर्मीमा शुरु भएको प्रदर्शनका क्रममा खटिएका प्रदर्शनकारी लगाएत प्रहरीलाई समेत पानी खुवाइएको थियो ।
पछिल्लो समय विभिन्न सार्वजनिक स्थानमा हुने प्रदर्शन, विरोध कार्यक्रम, सभा, प्रदर्शनीका क्रममा हुने फोहोर फाल्ने तर्फ सरोकारवाला तथा आयोजकहरुको ध्यान गएको देखिदैन ।