जाजरकोट, २५ जेठ २०७६ । पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ ।

सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले छ जना प्राविधिक विज्ञको टोलीलाई परिचालन गरेको छ ।

जाजरकोटमा भएको छलफलबाट ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका झण्डै ७५ वटाभन्दा बढी पर्यटकीयस्थलको नाम सूचीकृत गरिएको पर्यटन गुरुयोजना निर्माणका समूहका प्रमुख रामचन्द्र सेडाइँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा निर्माण गर्न लागिएको पर्यटन गुरुयोजना निर्माणमा कार्यरत प्राविधिकको टोली अहिले कर्णाली प्रदेशका जिल्ला–जिल्लामा योजना तर्जुमा गोष्ठीमा जुटिरहेका छन् । यसैक्रममा जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा योजना छलफल भएको छ ।

भेरी नदी आसपासमा रहेका तल्लुबगर, मन्मै, कालीमाटी, रिम्ना, कालेगाउँ, कुदु, फेरा, आलीलगायतका ठाउँमा होटल, भलिबल तथा ब्याटमिन्टन फिल्डलगायतका विभिन्न मनोरञ्जनात्मकस्थल बनाउन प्रस्ताव गरिएको छ । गोष्ठीले जुम्ला र डोल्पालाई जोड्न चाखुरे र नदईडाबलाई पदमार्गमा छनोट गरेको छ ।

त्यसैगरी उक्त छलफलले साहसिक पर्यटनका लागि याप्टिङ र पदमार्गलाई छनोट गरेको छ । जाजरकोटको परिबगरदेखि छेडाचौरसम्म भेरी नदी जलयात्रा छनोट गर्ने क्रममा रिम्ना र छेडाचौरलाई जलयात्राको बास स्थान छनोट गरिएको समूहका प्रमुख सेडाइँले बताउनु भयो  ।

छेडागाडको थलह–राजीकोट हुँदै नदईडाब पदमार्गले जुम्ला जिल्लालाई मात्र जोड्ने भएको छ भने खलङ्गा–पाँचकाटिया, सिल्पाचौर–रामीडाडाँ–घाट हुँदै जाने चाखुरे पदमार्गले जुम्ला र डोल्पा जिल्लालाई जोड्नेछ । बारेकोट गाउँपालिका–१ सिल्पाचौरलाई मुख्य घरवासस्थलका रुपमा छनोट गरेको छ भने कुशे गाउँपालिका–५ ढिमे र नलगाड नगरपालिका–५ खानटाकुरालाई सहायक घरवास स्थलका रुपमा छनोट गरेको छ ।

डोल्पा जिल्लाको प्रवेशद्धारको रुपमा रहेको जाजरकोटको जलाशययुक्त नलगाड जलविद्युतले जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने अनुमान गरिएको छ । विभिन्न जङ्गलमा पाइने ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी, विश्वकै दुलर्भ वन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, जलेवा, डाँफे, मुनाल, कस्तुरीलगायतका जनावर र पंक्षीले पनि पर्यटन विकासमा सहयोग गर्ने बुझाइ राखिएको छ । छेडाखोलाका माछा, पाली, कल्पत र मैदेको कात्तिके मह र बारेकोटी गाभालाई जाजरकोटको परिचयका रुपमा राखिएको छ ।

भौगोलिक रुपमा कर्णाली प्रदेशको केन्द्रबिन्दुमा जाजरकोट जिल्ला रहनु, भारत र चीनलाई जोड्ने त्रिदेशीय दु्रतमार्गका रुपमा रहेको भेरी करिडोर जाजरकोट जिल्ला भएर डोल्पा जानु, एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा ८२ किलोमिटर दूरी रहनुलाई पर्यटन विकासको सम्भावनामा राखिएको छ ।

जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने निजी क्षेत्रलाई प्रवद्र्धन गर्न होटल व्यवसायीलाई सरकारले अनुदान दिने व्यवस्था गर्नुपर्ने, पर्यटन उद्योगमा काम गर्ने मानवीय क्षमता विकासका लागि विभिन्न सीप विकास तालीमको आयोजना गर्नुपर्ने, पूर्वाधार विकासका योजना बनाई निर्माण कार्य सम्पन्न गर्नुपर्ने जिल्लावासीले माग राख्दै आएका छन् ।

विश्वकै उत्कृष्ट बहुमूल्य काइनाइट, टुर्मालिन, गार्नेट, रुवीलगायतका रत्नपत्थरको भण्डारस्थल रहेको जाजरकोटमा पाइने फलाम, तामा, ग्राफाइडजस्ता खनिजलाई पनि पर्यटन विकासका खम्बाका रुपमा लिने गरिएको छ । रासस

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्