काठमाडौँ, चैत २ गते । घण्टाघरको सुई मिलाउनका लागि निर्माण गरिएको धूपघडी अहिले वेवारिसे अवस्थामा छ । धूपघडी त्रिचन्द्र कलेज परिसरमा रहेको घन्टाघरको दक्षिणतर्फ छ । सुईमा परेको घामका आधारमा समय थाहा पाउन घूपघडी प्रयोग गरिन्थ्यो । तेस्रो राणा प्रधानमन्त्री वीर शमशेरले निर्माण गर्न लगाएको घन्टाघरको सुई बेलाबखत बिग्रिएपछि मर्मत गरिन्थ्यो र मर्मतपछिको सही समय जनाउन तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विदेशी धूपघडी त्यहाँ राख्न लगाएका थिए ।
इतिहास बनेको धूपघडीको तामाको सूई बेपत्ता छ भने घडीमाथि ढुङ्गाले हानेर कुच्याइएको छ । सो घडीले नेपालको समयमात्र जनाउँदैनथियो, काठमाडौँ र कलकत्ता, ग्रिनविच तथा मोन्ट्रियलबीचको समय फरक एवं हरेक महिनामा फरक पर्ने समयका बारेमा पनि जानकारी दिन्थ्यो ।
नेपाल सरकारका अवकास प्राप्त सहसचिव प्रकाशराज पाण्डेले आफूहरू त्रिचन्द्र कलेजमा अध्ययन गर्दा धूपघडी हेरेर समय थाहा पाउने गरेको स्मरण गर्नुभयो । “त्यसबेला सबैका हातमा घडी हुन्थेन” उहाँले भन्नुभयो, “घन्टाघरको सुई हेरेर समय थाहा पाउनुपथ्र्याे । घन्टाघरको घडीले ठिक समय जनाएको छ कि छैन भनेर धूपघडी हेथ्र्याैँ । ठ्याक्कै मिल्थ्यो ।”
काठमाडौँका पुराना रैथानेले धूपघडीलाई सौर्यघडी, सूर्यघडी वा छाँयाघडी पनि भन्ने गरेको पाइन्छ । चन्द्र शमशेरले सन् १९११ मा घन्टाघर सँगैको धूपघडी निर्माण गर्न लगाएका थिए ।
त्यहाँ संगमरमरमा ‘महाराज मेजर जनरल चन्द्र शमशेर जबरा’ ले धूपघडी राख्न लगाएको लेखिएको छ । पहिले घाम उदाएदेखि नअस्ताउञ्जेलसम्म धूपघडीमा समय हेर्न सकिन्थ्यो, तर अहिले सँगै निर्माण भएको मस्जिद र सडकपारिको प्रहरी भवनले गर्दा दिनभरिमा पूरा समयसम्म घूपघडीमा घाम पुग्न सक्दैन ।
पुरातत्वविद् प्रकाश दर्नालले हनुमानढोका दरबारको नासलचोक र भक्तपुर दरबारको तलेजु चोकमा पनि घूपघडी भएको बताउँदै ती मल्लकालीन भएको दावी गर्नुभयो । स्वयम्भूमा पनि धूपघडी छ । मल्लकालीन भनिएका धूपघडी ढुङ्गामा कुँदिएका छन् । त्यसमा सियोलाई ठाडो राखेर समय हेर्ने गरिन्थ्यो । तिनताका नारायणहिटी दरबारमा पनि धूपघडी थियो भन्ने कुरालाई एरिका ल्युकट्यागले उल्लेख गरेकी छिन् । तत्कालीन राजा त्रिभुवनसँग नजिकको सम्बन्ध राखेकी एरिकाले लेखेको पुस्तकमा एक दिन दरबारभित्रको बगैँचामा राजा त्रिभुवनको प्रतीक्षा गर्दा सूर्यघडीमा परेको छाँयाले फन्का मारेको उल्लेख छ ।
इतिहासकार स्वर्गीय नयराज पन्तले लक्ष्मीपति पाँडेको धूपघडी नामक पुस्तक लेख्नुभएको थियो । उहाँको छोरा इतिहासकार महेशराज पन्तले १८४८ सालमा बहादुर शाहका पालामा लक्ष्मीपति पाँडेले धातुको धूपघडी बनाएको र त्यसको झण्डै एकसय वर्षपछि मात्र विदेशी धूपघडी नेपालमा ल्याइएको कुरालाई नयराजले पुस्तकमा उल्लेख गर्नुभएको बताउनुभयो ।
“घन्टाघरको सुई मिलाउन चन्द्र शमशेरले धूपघडी राख्न लगाएका थिए” उहाँले भन्नुभयो । संस्कृति विद् सत्यमोहन जोशीले आफूहरू कलेजमा पढ्दा घण्टाघरको घडी बिग्रदा धूपघडी प्रयोग गर्ने गरेको स्मरण गर्नुभयो । “विज्ञानको ब्लकमा धूपघडी राखिएको थियो” उहाँले थप्नुभयो, “विज्ञानका विद्यार्थीलाई धूपघडीको प्रयोग गराइन्थ्यो होला, हामी आर्टस्वालालाई त्यसबारेमा सिकाइदैन थियो ।”
अभिलेख विशेषज्ञ श्यामसुन्दर राजवंशीले मल्लकालीन कुनै पनि अभिलेखमा धूपघडीका बारेमा लेखिएको हालसम्म फेला नपरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका गणित विषयका अवकास प्राप्त प्राध्यापक रमेशबहादुर श्रेष्ठले आफूले २०२४ सालमा एसएलसी परीक्षा उत्तीर्ण हुँदा बाबुले ४५ रुपियाँमा रम्भा घडी उपहार दिनुभएको स्मरण गर्दै भन्नुभयो, “त्यो बेला बालाजुमा भएको एभरेस्ट वाच कम्पनीले रम्भा घडी उत्पादन गथ्र्याे ।
दम दिने घडीमात्र पाइन्थ्यो । भोटाहिटी र इन्द्रचोकमा मात्र घडी पसल थिए । त्रिचन्द्र कलेजमा पढ्ने कतिपय विद्यार्थीका हातमा घडी हुन्थ्यो । घडी नहुनेहरूका लागि घन्टाघर थियो ।”
अवकास प्राप्त सहसचिव पाण्डेले विदेशमा धूपघडी भएको भए विदेशीले आफूहरुसँग एकसय वर्षभन्दा पुरानो घडी छ भनेर फूर्ति लगाउँथे भन्दै नेपाल आएका विदेशी पर्यटकहरुलाई धूपघडी देखाउन सके पर्यटन क्षेत्रमा राम्रै हुने बताउनुभयो ।
त्रिचन्द्र कलेजका प्रमुख प्रा.डा. प्रदीप न्यौपानेले हालकै ठाँउमा धूपघडीलाई संरक्षण गर्ने योजना आफूले तत्कालै बनाउने बताउँदै भन्नुभयो, “अब यसलाई सुरक्षित गरेर राख्छौँ ।” गोरखापत्र