काठमाडौं , ५ माघ २०७५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया आज (शुक्रबार) देखि शुरु गरेको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुला हुने जानकारी दिएको थियो ।

संयोजक नियुक्तिका लागि मन्त्रालयले तयार पारेको मापदण्ड पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । मापदण्ड अनुसार मन्त्रालयले सम्बन्धित नगर तथा गाउँपालिका मातहतमा रहने गरी नायव सुब्बा र शाखा अधिकृत सो सरहको एक–एक जना संयोजक नियुक्त गर्नेछ ।

७ सय ५३ स्थानीय तहहरु मध्ये १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहहरुमा नायव सुब्बा सो सरहको र १० हजार माथि जनसंख्या भएका स्थानीय तहहरुमा शाखा अधिकृत सो सरहको अस्थायी कर्मचारी भर्ना गर्ने मन्त्रालयले जनाएको छ । उक्त कर्मचारीले सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा मन्त्रालयले एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिष्पर्धाद्वारा करारमा पदपुर्ति गरी स्थानीय तहमा खटाउनेछ । रोजगार संयोजक नियुक्ति पूर्ण रुपमा स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्रालयले सफ्टवेयरको प्रयोग समेत गर्ने भएको छ । निष्पक्ष बनाउनका लागि मन्त्रालयले तोकिएको न्युनम शैक्षिक योग्यताको लब्धांक प्रतिशतबापत ७० प्रतिशत, न्युनतम् भन्दा माथिको शैक्षिक योग्यता बापत २० र अनुभवको प्रमाणपत्रका आधारमा अंक १० गरी सफ्टवेयरले कर्मचारी छनौट गर्नेछ ।

नायव सुब्बा सो सरहका लागि प्रविणता प्रमाण पत्र तह (प्लस टू) र शाखा अधिकृत स्वसरहका लागि स्नातक तह उतिर्ण हुनुपर्ने गरी न्युनतम शैक्षिक योग्यता तोकिएको छ भने २१ वर्ष पुरा भई ४५ ननाघेको हुनु पर्ने गरी उमेर हद तोकिएको छ । संयोजकको सेवा सुविधा भने निजामति कर्मचारी सो सरह र सम्बन्धीत स्थानीय तहमा सरकारले तोके अनुसारको भत्ता दिने मन्त्रालयले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रोजगार दिने सरकारको तयारी छ । रोजगार संयोजकले उक्त तहको रोजगारीको साम्भाव्यताका बारेमा समेत अध्ययन गर्नेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्