२८ वैशाख, काठमाडौं । आफुसँग भएको कम्पनीको सेयर सस्तोमा किन्ने अबसर हकप्रद निश्काशनले लगानीकर्तालाई दिनेगर्दछ, तर हकप्रद सेयर किन्न पाईन्छ भन्दैमा दोस्रो बजारबाट महंगो मूल्यमा सेयर किन्नु अघि सोच्नुपर्ने हुन्छ ।
हकप्रद सेयर कम्पनीले लगानीकर्तालाई फाइदाका लागि नभई उसको चुक्ता पूँजी बढाउनुपर्ने बाध्यताले बेच्ने हो । जुन कम्पनी जत्ति धेरै कमजोर हुन्छ र अन्य विकल्पबाट पूँजी बढाउँन सक्दैन, उसले सबैभन्दा धेरै प्रतिशत हकप्रद बिक्रीमा ल्याउने गरेको तथ्याङ्क धेरै पाइन्छ। सर्बसाधारण लगानीकर्ता भने जुन कम्पनी जत्ति कमजोर छ र उसले जत्ति धेरै हकप्रद बिक्रीमा ल्याउने घोषणा गर्छ, त्यति नै हकप्रदको लोभमा उचालिएर महंगो मूल्यमा सेयर किन्ने र हकप्रद भर्ने पैसा नभएर सेयर बिक्री गर्ने प्रबृत्तिका कारणले पनि अहिलेको सेयर बजार घटाउन बल पुर्याएकाे देखिन्छ।
हकप्रद बिक्री गरेर पूँजी बढाए अनुसार आम्दानी बढाउन समय लाग्ने, तत्काल प्रतिसेयर आम्दानी घट्ने, बजारमा सेयरको आपुर्ति बढी हुन गई सेयर मूल्य घट्ने, हकप्रद किन्नलाई पैसाको जोहो गर्न समस्यामा पर्न सक्ने जस्ता अनेक दुष्परिणाम हकप्रद बिक्रीले ल्याउने गरेको देखिन्छ । साढे दुई बर्ष यता झण्डै डेढ खर्ब रुपैयाँको हकप्रद र थप नयाँ साधारण सेयर बजारमा बिक्री हुँदा लगानीकर्तामा लगानीयोग्य रकम कम भएर गएको पाईन्छ ।
संस्थापकहरुले हकप्रदका लागि रकम जोहो गर्न अनेक खेल गर्दा पनि बैंकको तरलता अभाव र अनेक बिकृति आउन सहयोग पुगेको देखिएको छ । संस्थापक तथा सेयर ब्यापारीहरुले हकप्रदको हल्ला गरेर आफुसँग पहिले भएको सेयर बेची बाहिर निस्कदा सर्बसाधारणहरु फसेका हुन् ।
- ADVERTISEMENT -
साढे दुई बर्ष यता सेयर बजारमा लगानी गर्नेले घाटा खाएको भनेको हकप्रदमा उचालिँदाको परिणाम नै हो । हकप्रदको लोभमा उचालिनेहरु संभवतः अहिले कोही पनि नाफामा छैनन् । यसमा अनुभवी लगानीकर्ता भन्दा पनि नवप्रवेशीहरु धेरै फसेको पाईएको छ ।
हकप्रदको लोभमा महंगोमा दोस्रो बजारबाट सेयर किन्नु भन्दा हकप्रदको मूल्य समायोजन भएपछि सेयर किन्नु वा हकप्रद नविकेर लिलाममा आउँदा सस्तो मूल्यमा लिलाम सकार्नुमा धेरै फाईदा हुन्छ ।